विदेशी कामदार बढेसँगै नेपालबाट बाहिरिने रेमिट्यान्स उकालो

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट औपचारिक माध्यममार्फत बाहिरिने रेमिट्यान्स ५२.६६ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ बराबरको रेमिट्यान्स विदेशिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ मात्रै बाहिरिएको थियो।

नेपालमा विदेशी कामदारको संख्या बढ्दै जानुका कारण पछिल्ला महिनाहरूमा बाहिरिने रेमिट्यान्स पनि क्रमशः बढ्न थालेको देखिन्छ। कोरोना महामारी र त्यसपछिको आर्थिक शिथिलताका कारण अघिल्ला वर्षहरूमा नेपालबाट बाहिरिने रेमिट्यान्स खासै बढ्न सकेको थिएन। तर, गत आर्थिक वर्षदेखि भने यो प्रवृत्ति फेरिएको राष्ट्र बैंकको आँकडाले देखाएको छ।

यता वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रेमिट्यान्स भने उच्च दरमा बढिरहेको छ। चालू आवको पहिलो ६ महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३९ प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा ७ खर्ब ६४ अर्ब ३० करोड ८० लाख रुपैयाँ मात्र भित्रिएको थियो। नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको योगदान अत्यन्तै महत्वपूर्ण मानिँदै आएको छ। यद्यपि, यहीसँगै देशबाट बाहिरिने रकम पनि विस्तारै बढ्दै गएको देखिएको छ, यद्यपि यो भित्रिने रकमको तुलनामा निकै कम हो।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हालसम्म २२ हजार ४३९ विदेशी कामदारले नेपालमा काम गर्न श्रम इजाजत लिएका छन्। प्रचलित व्यवस्थाअनुसार विदेशी कामदारले नेपालमा कमाएको रकममध्ये ७५ प्रतिशतसम्म आफ्नो मुलुक पठाउन पाउँछन् भने बाँकी २५ प्रतिशत नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ। यही व्यवस्थाअनुसार नेपालमा कार्यरत विदेशी कामदारले आफ्नो आम्दानी रेमिट्यान्समार्फत विदेश पठाउने गरेका छन्।

हाल नेपालमा बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, जलविद्युत् तथा पूर्वाधार आयोजनामा उल्लेख्य संख्यामा विदेशी कर्मचारी कार्यरत छन्। डाबर नेपाल, युनिलिभर नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंक, मेटलाइफ इन्स्योरेन्स, एलआइसी नेपाल, नेसनल इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्स र हिमालयन रि–इन्स्योरेन्सजस्ता संस्थामा विदेशी कर्मचारी रहेका छन्। यस्तै नागढुंगा सुरुङमार्गमा जापानी, सिद्धबाबा सुरुङमा चिनियाँ तथा २१६ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनामा कोरियाली प्राविधिक कामदार कार्यरत छन्।

विदेशी लगानी भएका कम्पनी तथा आयोजनाले प्रायः आफ्नै मुलुकबाट दक्ष जनशक्ति ल्याउने गर्छन् भने स्वदेशी कम्पनीहरूले नेपालमा उपलब्ध नहुने सीप भएका कर्मचारी विदेशबाट भित्र्याउने गरेका छन्। जलविद्युत् तथा ठूला पूर्वाधार परियोजनामा विशेष गरी विदेशी प्राविधिकको सहभागिता बढ्दो क्रममा छ।

तर राष्ट्र बैंकको तथ्यांकमा अनौपचारिक माध्यमबाट बाहिरिने रकम समेटिएको छैन। नेपालमा श्रम इजाजत नलिई काम गर्ने धेरै भारतीय नागरिक अनौपचारिक क्षेत्रमा संलग्न छन्। उनीहरूले कमाएको रकम सीमावर्ती क्षेत्रमा सटही गरेर नगदमै लैजाने गर्छन्, जसको कुनै आधिकारिक तथ्यांक उपलब्ध छैन।

यसअघि अमेरिकाको पिउ रिसर्च सेन्टरले सन् २०१७ मा गरेको अध्ययनअनुसार नेपालबाट भारततर्फ करिब तीन अर्ब अमेरिकी डलर रेमिट्यान्स जाने गरेको देखाइएको थियो भने भारतबाट नेपाल भित्रिने रेमिट्यान्स करिब एक अर्ब अमेरिकी डलर मात्र थियो।

राष्ट्र बैंकको आँकडाअनुसार पछिल्लो साढे पाँच वर्षमा नेपालबाट कुल ४४ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १ करोड ८५ लाख, २०७८/७९ मा ७ अर्ब ६७ करोड ९१ लाख, २०७९/८० मा ६ अर्ब ६१ करोड २८ लाख, २०८०/८१ मा ६ अर्ब ६ करोड २ लाख र गत आर्थिक वर्षमा ११ अर्ब १७ करोड २३ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो। गत वर्षको रकम हालसम्मकै उच्च हो। चालू आवको पहिलो ६ महिनामै झन्डै सात अर्ब रुपैयाँ बाहिरिनु प्रवृत्ति अझै बढ्न सक्ने संकेत मानिएको छ।

अर्थविद्हरूका अनुसार विदेशी लगानी बढ्दै जानु सकारात्मक भए पनि रेमिट्यान्स बाहिरिने क्रमलाई सन्तुलनमा राख्न स्वदेशी सीप विकास, प्राविधिक जनशक्ति उत्पादन र स्वदेशमै रोजगारी सिर्जना अपरिहार्य छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय