सन् २०२६ का लागि कोरियाले ७,२०० नेपाली कामदार माग्यो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाले सन् २०२६ का लागि विभिन्न क्षेत्रमा ७ हजार २०० जना नेपाली कामदार लैजान भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले नेपाल–दक्षिण कोरिया सरकारबीच भएको समझदारीअनुसार भाषा परीक्षाको आवेदन खुलाएको हो। आवेदन साउन ११ गतेदेखि अनलाइनमार्फत खुल्नेछ र साउन १७ गते (अगस्ट २) सम्म आवेदन दिन सकिनेछ।

यसपटक उत्पादन क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार तथा सेवा र वन पैदावार क्षेत्रमा समान १००/१०० जना नेपालीलाई रोजगारीको अवसर प्रदान गरिनेछ। सेवा र वन पैदावार क्षेत्र यस वर्ष पहिलो पटक समावेश गरिएको ईपीएस शाखाले जनाएको छ।

आवेदन दिनका लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसोबास नगरेको, नेपाल सरकारले वैदेशिक रोजगारीमा जान रोक नलगाएको तथा ई–९ वा ई–१० भिसामा कोरियामा पाँच वर्ष वा सोभन्दा बढी समय नबसेको हुनुपर्नेछ।

भाषा परीक्षाको आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ। पहिलो चरणको भाषा परीक्षाको नतिजापछि दोस्रो चरणको परीक्षा सञ्चालन गरिने ईपीएस शाखाले जनाएको छ।

शाखाका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेपछि प्रकाशित नतिजाको वैधता दुई वर्ष रहनेछ। तर भाषा परीक्षा पास गर्दैमा दक्षिण कोरियामा रोजगारी सुनिश्चित नहुने स्पष्ट पारिएको छ। भाषा परीक्षाको मिति भने प्राप्त आवेदन संख्याका आधारमा निर्धारण गरिनेछ।

प्रतिक्रिया