काठमाडौं । सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ अन्तर्गत व्यवस्था गरिएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै स्वास्थ्य र शिक्षामा लगाइएको समता शुल्क आर्थिक ऐनमार्फत नै छुट दिने निर्णय भएको जानकारी दिए।
सरकारले चालु आर्थिक वर्षदेखि निजी स्वास्थ्य संस्था र शैक्षिक संस्थामा ३ प्रतिशत समता शुल्क लागू गरेको थियो। उक्त व्यवस्थाप्रति निजी अस्पताल, शैक्षिक संस्था तथा विभिन्न सरोकारवालाले व्यापक विरोध जनाउँदै शुल्क खारेज गर्न माग गर्दै आएका थिए।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क हट्ने भएको छ।