काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ मुद्दती निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। आजदेखि लागू हुने नयाँ दरअनुसार निक्षेपको ब्याजदर घट्ने क्रम साउनमा पनि जारी रहेको छ।
सार्वजनिक विवरणअनुसार २० वटा वाणिज्य बैंकमध्ये केहीले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।
सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक राष्ट्रिय वाणिज्य बैंक बनेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ प्रतिशत बिन्दु र संस्थागत मुद्दतीमा १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। एनएमबी बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत बिन्दुले ब्याजदर कम गरेको छ। सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१५ प्रतिशत तथा संस्थागतमा ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।
कृषि विकास बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.०३ प्रतिशत बिन्दुले घटाएको छ। कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर क्रमशः ०.०६ प्रतिशत र ०.१० प्रतिशत बिन्दुले घटाएका छन्।
यद्यपि, नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया र प्राइम कमर्सियलसहित १२ वटा बैंकले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
यसबीच नेपाल बैंक लिमिटेडले भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ। चार वर्ष वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दती निक्षेपमा यो दर लागू हुनेछ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ४.२५ प्रतिशतमै स्थिर राखिएको छ।
साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर नबिल बैंक र प्रभु बैंकले उपलब्ध गराउने भएका छन्। यी दुवै बैंकले अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्।
व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम अधिकतम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। यी बैंकमा ग्राहकले अधिकतम ३.८५ प्रतिशत मात्रै ब्याज पाउनेछन्।
संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल बैंकले सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। प्रभु बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।