भारतीय बजारमा बढ्दै नेपाली सिमेन्टको माग

काठमाडौँ । नेपालबाट तयारी सिमेन्टको निर्यात लगातार चौथो वर्ष पनि बढेको छ। केही समय भारतीय गुणस्तर चिह्न (बीआईएस) नवीकरणमा ढिलाइका कारण निर्यातमा अवरोध आए पनि चालु आर्थिक वर्षमा पनि नेपाली सिमेन्टको निर्यात प्रवृत्ति सकारात्मक देखिएको छ। उद्योगीहरूका अनुसार भारतीय बजारमा नेपाली ब्रान्डका तयारी सिमेन्टप्रति विश्वास र माग क्रमशः बढ्दै गएको छ।

उत्पादकहरूले कच्चा पदार्थको रूपमा प्रयोग हुने क्लिंकरको निर्यात क्रमशः घटाउँदै तयारी सिमेन्टको निर्यातलाई प्राथमिकता दिन थालेका छन्। उद्योगीहरूका अनुसार क्लिंकरभन्दा तयारी सिमेन्ट निर्यात गर्दा मूल्य अभिवृद्धि बढी हुने, आफ्नै ब्रान्ड प्रवर्द्धन हुने र दीर्घकालमा बजार विस्तार गर्न सहज हुने भएकाले यसतर्फ आकर्षण बढेको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्म एक अर्ब ४४ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। यस अवधिमा करिब एक अर्ब ३ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट र ४१ करोड रुपैयाँ बराबरको क्लिंकर निर्यात भएको भन्सार तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको सोही अवधिमा ८८ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट र ४९ करोड रुपैयाँ बराबरको क्लिंकर निर्यात भएको थियो। यसबाट क्लिंकरको निर्यात घटे पनि तयारी सिमेन्टको निर्यात उल्लेखनीय रूपमा बढेको स्पष्ट हुन्छ।

क्लिंकरको निर्यात घट्नु र तयारी सिमेन्टको निर्यात बढ्नुले भारतीय बजारमा नेपाली ब्रान्डका सिमेन्टको उपस्थितिमा क्रमिक सुधार आएको संकेत गरेको उद्योगीहरूको भनाइ छ। सामान्यतया सिमेन्ट उत्पादकहरूले क्लिंकर अन्य सिमेन्ट उद्योगलाई बिक्री गर्ने गर्छन् भने तयारी सिमेन्ट आफ्नै ब्रान्डमा डिलरमार्फत बिक्री हुन्छ। क्लिंकरबाट तयारी सिमेन्ट उत्पादन गर्दा करिब १५ प्रतिशतसम्म मूल्य अभिवृद्धि हुने भएकाले उद्योगहरू अहिले तयारी सिमेन्ट निर्यातमा बढी केन्द्रित भएका छन्।

छ वर्षअघिसम्म नेपालको सिमेन्ट बजारमा आयातित सिमेन्टको वर्चस्व थियो। तर २०७९ सालपछि अवस्था क्रमशः बदलिँदै गयो। २०७९ असारबाट तयारी सिमेन्ट र २०७९ असोजबाट क्लिंकरको निर्यात औपचारिक रूपमा सुरु भएको हो। आर्थिक वर्ष २०७९/८० मा ४२ करोड रुपैयाँ बराबरको क्लिंकर र ३५ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट निर्यात भएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा सिमेन्ट र क्लिंकर दुवैको निर्यातमा उल्लेखनीय वृद्धि देखियो। यस वर्ष क्लिंकरको निर्यात चार गुणाले बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको थियो भने तयारी सिमेन्टको निर्यात करिब छ गुणाले बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको थियो। तर, आर्थिक वर्ष २०८१/८२ मा क्लिंकरको निर्यात ६३ प्रतिशतले घट्दा पनि तयारी सिमेन्टको निर्यात भने १३ प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ पुगेको थियो। सोही वर्ष क्लिंकरको निर्यात ६९ करोड ७३ लाख रुपैयाँमा सीमित भएको थियो।

२०८१/८२ मा भारतीय पक्षले नेपाली सिमेन्टको गुणस्तर चिह्न नवीकरण गर्न ढिलाइ गर्दा निर्यातमा असर परेको थियो। अर्घाखाँची सिमेन्टलगायत केही उद्योगहरूको निर्यात करिब छ महिनासम्म प्रभावित भएको थियो। अहिले भने पाल्पा, सर्वोत्तम र अर्घाखाँची सिमेन्टले ठूलो परिमाणमा तयारी सिमेन्ट भारत निर्यात गरिरहेका छन्। करिब एक दर्जन उद्योगले भारतीय गुणस्तर चिह्न प्राप्त गरी आंशिक रूपमा निर्यात गर्दै आएका छन्।

उद्योगीहरूका अनुसार भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दै गएको भए पनि लागत घटाउनुपर्ने चुनौती अझै कायम छ। भन्सार प्रक्रिया, ढुवानी समय र प्रशासनिक झन्झटले प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको उनीहरूको गुनासो छ। एक उद्योगीका अनुसार नेपालबाट भारतीय बजारसम्म सिमेन्ट पुर्‍याउन २–३ घण्टा मात्र लाग्ने भए पनि नेपाली भन्सारमा ५–७ घण्टासम्म जाँचपासमा समय लाग्दा ढुवानी लागत बढ्ने गरेको छ। कतिपय अवस्थामा ट्रक चालकहरू ढुवानी गर्न नै हिच्किचाउने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

उद्योगीहरू भन्छन्, यस्ता प्रक्रियागत अवरोधमा सरकारले सहजीकरण गरिदिने हो भने यथास्थितिमै वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको तयारी सिमेन्ट भारत निर्यात गर्न सकिने सम्भावना छ। निर्यात बढेसँगै उद्योगहरूको उत्पादन क्षमता पनि पूर्ण रूपमा उपयोग हुने र समग्र औद्योगिक क्षेत्रलाई टेवा पुग्ने उनीहरूको विश्वास छ।

नेपालमा सिमेन्ट उद्योगको सुरुवात २०३२ सालमा काठमाडौंको चोभारमा हिमाल सिमेन्ट उद्योग स्थापना भएपछि भएको हो। त्यसपछि २०३६ सालमा उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा आयो। प्रारम्भिक चरणमा यी सरकारी उद्योगहरूले बजारको ठूलो हिस्सा ओगटेका थिए। २०४२ सालदेखि २०६० सालसम्म सरकारले औद्योगिक इजाजतपत्र प्रक्रिया सहज बनाउँदै निजी लगानी र विदेशी प्रविधिलाई प्रोत्साहन गरेपछि सिमेन्ट उद्योगमा निजी क्षेत्रको आकर्षण बढ्दै गयो।

२०७२ सालको भूकम्प सिमेन्ट उद्योगका लागि महत्वपूर्ण मोड सावित भयो। भूकम्पपछिको पुनर्निर्माणले सिमेन्टको माग अत्यधिक बढायो। यसलाई अवसरका रूपमा लिँदै निजी क्षेत्रले ठूलो लगानी गर्‍यो र सरकारले पनि उद्योग स्थापनामा सहुलियत तथा प्रोत्साहनका प्याकेजहरू ल्यायो। फलस्वरूप, वार्षिक २–३ वटा उद्योग दर्ता हुने क्षेत्रमा भूकम्पपछि उद्योग दर्ताको संख्या तीव्र गतिमा बढ्यो।

हाल नेपालमा १०० भन्दा बढी सिमेन्ट उद्योग दर्ता भएका छन्, जसमध्ये करिब ६० वटा सञ्चालनमा छन्। यी उद्योगहरूको वार्षिक उत्पादन क्षमता २ करोड टनभन्दा बढी छ भने आन्तरिक माग औसतमा १ करोड १० लाख टन हाराहारीमा सीमित छ। यसरी नेपाल सिमेन्टमा पूर्ण रूपमा आत्मनिर्भर भइसकेको छ र अतिरिक्त उत्पादन निर्यातमार्फत उपयोग गर्ने चरणमा प्रवेश गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय