काठमाडौं । प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नेपालीको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बलेवा सेवा समाज जापानले प्रधानमन्त्री राहत कोषमा तीन लाख रुपैयाँ सहयोग गरेको छ।
बलेवा सेवा समाज जापानले श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक तथा भजन कार्यक्रम–२०८३ बाट बचत भएको रकम राहत कोषमा जम्मा गरेको हो। धार्मिक तथा सांस्कृतिक संरक्षणसँगै मानव सेवाको उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमबाट बचत भएको रकम विपत्तिमा परेका नागरिकको राहतका लागि समर्पण गरिएको समाजले जनाएको छ।
समाजका पूर्व अध्यक्ष तथा संरक्षक एवं कार्यक्रम संयोजक सेबक पिसी र पूर्व अध्यक्ष तथा संरक्षक एवं कार्यक्रम आर्थिक संयोजक महेन्द्र पिसीको उपस्थितिमा तीन लाख रुपैयाँ नेपाल पठाई प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।
समाजका अध्यक्ष सुरेन्द्र प्रेमले विदेशमा रहे पनि नेपालीको मन, माया र जिम्मेवारी मातृभूमिसँग जोडिएको बताउँदै विपत्तिका बेला सरकार तथा सम्बन्धित निकायलाई साथ दिनु सबैको साझा दायित्व भएको बताए। रकम ठूलो वा सानोभन्दा पनि दुःखमा परेका बेला सहयोगको हात बढाउनु नै सबैभन्दा ठूलो मानवता भएको उनको भनाइ छ।
त्यस्तै, समाजका महासचिव रोशन चपागाईंले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित धार्मिक कार्यक्रमबाट बचत भएको रकम पुनः विपत्तिमा परेका नेपालीको राहतका लागि प्रयोग गर्न पाउनु सुखद र अर्थपूर्ण अनुभूति भएको बताए।
कार्यक्रम सफल बनाउन जापानमा रहेका नेपाली, सहयोगदाता, शुभेच्छुक, कलाकार, भक्तजन तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति समाजले आभार व्यक्त गरेको छ।
बलेवा सेवा समाज जापानले ‘सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो’ भन्ने भावनाका साथ आगामी दिनमा पनि दुःखमा परेका नेपालीको साथमा रहने प्रतिबद्धता जनाएको छ।