काठमाडौं । भोटेकोशी बाढीका क्रममा रसुवामा बेपत्ता भएका ६ जनालाई नेपाली सेनाले जीवितै उद्धार गरेको छ ।
बेपत्ता व्यक्तिहरूको उद्धारसँगै सेनाले जिल्लाका विभिन्न जलविद्युत् आयोजनाका टनेलमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
सैनिक मुख्यालयले जारी गरेको पछिल्लो अपडेटअनुसार लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना–साना होल बनाएर खोजी गरिरहेको छ । चिलिमे हाइड्रोमा पनि टनेलभित्र खोज तथा उद्धारको काम जारी रहेको सेनाले जनाएको छ ।
त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा स्काभेटर प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो हटाउने काम गरेको छ । राति करिब २ बजे आउटलेटको होल ठूलो बनाउन क्राउनमा ब्लास्टिङ गरी सफा गर्ने काम भइरहेको सेनाले जनाएको छ ।
त्यस्तै, त्रिशूली थ्री बीमा नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ । टोलीले आयोजनाको कार्यालय तथा निवास रहेको क्षेत्र पहिचान गरी उक्त स्थानसम्म पुग्न एक्साभेटर र बबक्याट प्रयोग गरेर बाटो खोल्ने तथा माटो पन्छाउने काम गरिरहेको छ ।