जन्माष्टमीमा भक्ति र प्रार्थनासँगै विपत्तिपीडित नेपालीलाई सहयोग गर्ने बलेवा सेवा समाजको तयारी

टोकियो । बलेवा सेवा समाज जापानले आयोजना गर्न लागेको श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम पूर्वनिर्धारित योजनाअनुसार सञ्चालन हुने भएको छ। कार्यक्रम आगामी सेप्टेम्बर ४ तारिख शुक्रबार टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा आयोजना हुँदैछ।

नेपालमा हालै आएको महाविपत्तिलाई मध्यनजर गर्दै यस वर्षको कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नगरी धार्मिक आस्था, भक्ति, प्रार्थना र मानव सेवासँग जोडेर सञ्चालन गर्ने निर्णय गरिएको समाजले जनाएको छ।

कार्यक्रमको तयारीका लागि बसेको बैठकले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै कार्यक्रमबाट संकलित रकम मानवीय सेवामा परिचालन गर्ने निर्णय गरेको छ। विपत्तिबाट प्रभावित नेपालीलाई सहयोग गर्ने उद्देश्यले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णयसमेत गरिएको समाजले जनाएको छ।

कार्यक्रम संयोजक सेवक पिसीले विपत्तिमा परेका नेपालीप्रति सहयोग र एकताको भावना अभिव्यक्त गर्ने गरी कार्यक्रमलाई भक्तिमय तथा सेवामूलक बनाइने बताए। उनले जापानवासी नेपालीलाई कार्यक्रममा सहभागी भई मानवीय सेवाको अभियानमा साथ दिन आग्रह गरे।

कार्यक्रम उपसंयोजक महेन्द्र पिसीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र आवश्यक सबै व्यवस्थापन पूरा भइसकेको जानकारी दिए। उनले जापानमा रहेका नेपालीलाई कार्यक्रममा उपस्थित हुन आह्वान गरे।

समाजका महासचिव रोशन चापागाईँले धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्व र मानव सेवालाई जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। कार्यक्रममा सहभागीबाट प्राप्त सहयोगलाई मानवीय सेवामा परिचालन गरिने उनको भनाइ छ।

बलेवा सेवा समाज जापानका अध्यक्ष **सुरेन्द्र पौडेल ‘प्रेम’**ले देश विपत्तिमा रहेका बेला भगवान् श्रीकृष्णसँग सुख, शान्ति, विपत्तिबाट मुक्ति र रक्षाका लागि प्रार्थना गर्दै मानवीय सहयोगमा जुट्नु कार्यक्रमको उद्देश्य रहेको बताए।

कार्यक्रमलाई थप भक्तिमय बनाउन बलेवाली भजन समूहले विशेष तयारीसमेत गरेको छ। समूहले कार्यक्रममा विभिन्न भजन तथा धार्मिक प्रस्तुति दिने जनाइएको छ।

बलेवा सेवा समाज जापानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

सेप्टेम्बर ४ तारिख शुक्रबार सोलमारी मुरा हलमा आयोजना हुने कार्यक्रममा सहभागी भई धार्मिक आस्था, प्रार्थना तथा मानव सेवाको अभियानमा साथ दिन समाजले अपिल गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय