भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आइतबार साँझसम्म भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३ सय ४२ जनाको शव फेला परेको छ। बाढीमा परी अझै ३ हजार ९ सय ९२ जना सम्पर्कविहीन छन्।

फेला परेका शवमध्ये ५ सय ३० पुरुष, ३ सय २८ महिला तथा ४ सय ९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन्। प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८ सय २७ पुरुष र ५ सय ६७ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २ सय ६७ पुरुष र २ सय ३९ महिला सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शवमध्ये १ हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ।

बाढीपछि हालसम्म ९ हजार १ सय ५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक १ हजार १ सय ८१ जना र मृतकका आफन्त १ हजार १ सय ९५ जना गरी २ हजार ३ सय ७६ जनाको डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजी, उद्धार तथा शवको पहिचान र व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा निरन्तर परिचालित छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय