भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका सुरुङमा १२१ जना फसेको सेनाको भनाइ

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट करिब ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेका बेला ती आयोजनाका सुरुङभित्र करिब १२१ जना व्यक्ति फसेको नेपाली सेनाले जनाएको छ।

सोमबार आयोजित ब्रिफिङमा सेनाले परियोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन भए पनि ती सबै सुरुङभित्र फसेका व्यक्ति नभएको स्पष्ट पारेको हो। आयोजनाबाट प्राप्त विवरणमा उल्लेख भएको ९ सय हाराहारीको संख्या आयोजनासँग आबद्ध व्यक्तिको भएको र सुरुङभित्र फसेकाको संख्या भने करिब १२१ जना रहेको सेनाको भनाइ छ।

सेनाका एक प्रतिनिधिले ब्रिफिङका क्रममा परियोजनासँग आबद्ध करिब ९ सय जना सम्पर्कविहीन भए पनि त्यसलाई सुरुङभित्र फसेका व्यक्तिको संख्याका रूपमा बुझ्न नहुने बताए।

नेपाली सेनाले सरकारले खोज तथा उद्धार कार्य बन्द गर्ने निर्णय नगरेसम्म अभियान जारी राख्ने जनाएको छ। सबै सुरुङमा प्रवेशको अवस्था अर्थात् ‘ब्रेकथ्रु’ नभएसम्म खोजी जारी रहने बताउँदै सेनाले अहिलेसम्म बेपत्ताको जीवित उद्धारको आशा कायमै रहेको जनाएको छ।

सेनाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली, द्रुत प्रतिकार्य टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा नियन्त्रण कक्षसम्म पुगेर खोजीमा जुटेको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङमा नेपाली सेनाको टोली उद्धार सामग्रीसहित निरन्तर खोज तथा उद्धारमा खटिएको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा अडिट–२ बाट प्रवेश गरेको सेनाको टोली अडिट–१ बाट बाहिरिएको छ। अडिट–२ को सुरुङबाट उत्खनन मेसिन लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको छ। हालसम्म त्यहाँ कुनै व्यक्ति वा अन्य सामग्री फेला नपरेको सेनाले जनाएको छ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सानो उत्खनन मेसिन र लेदो तान्ने पम्पको प्रयोग गरी सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ। हेलिकप्टरमार्फत स्याफ्रुबेंसीमा झारिएको उत्खनन मेसिनलाई डोरीको सहायताले सुरुङ क्षेत्रमा लैजाने काम भइरहेको छ।

यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले तापीय क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ।

बाढीपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य अत्यन्त जोखिमपूर्ण रहे पनि नेपाली सेना खोज तथा उद्धारमा निरन्तर परिचालित रहेको छ। सेनाले सबै सम्भावित स्थानमा खोजी पूरा नगरेसम्म अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय