भोटेकोशी बाढी : सेना, प्रहरी र विदेशी विशेषज्ञ टोलीद्वारा उद्धार जारी

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटमा भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार कार्यको विस्तृत विवरण सार्वजनिक गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले सीमित स्रोतसाधनका बाबजुद सुरुङभित्र प्रवेश गरेरै राज्य संयन्त्रले अन्तिमसम्म खोज तथा उद्धार कार्य जारी राख्ने बताएका छन्।

गत भदौ १० गते बिहान रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५ हजार ६ सय मिटर उचाइबाट खसेको हिमपहिरोका कारण भोटेकोशी नदीमा लेदोसहितको भीषण बाढी आएको थियो। बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याउँदा कर्मचारी तथा प्राविधिकहरू बेपत्ता भएका थिए।

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट भदौ १९ गते दुई जनालाई जीवितै उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको छ। सुरुङको मुख खोल्न ६ वटा एस्काभेटरले २५ मिटर गहिराइसम्म उत्खनन गरेपछि फेला परेको केबुल सुरुङमा प्रवेशका लागि काठमाडौं–तराई द्रुतमार्गबाट विस्फोटक पदार्थ तथा नागढुंगा सुरुङमार्गबाट कम्प्रेसर र ड्रिलिङ मेसिन हेलिकप्टरमार्फत पुर्‍याइएको थियो। अहिले त्यहाँ थर्मल इमेजिङ र इन्फ्रारेड क्यामरामार्फत खोजी भइरहेको छ।

त्यसैगरी, रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली सेना, चिनियाँ र कोरियाली विशेषज्ञ टोलीले खोजी गरिरहेका छन्। सुरुङको करिब २०० मिटरभित्र भेटिएको पानी जमेको क्षेत्रमा थर्मल ड्रोन प्रयोग गरेर खोजी गरिएको थियो। उक्त आयोजनाबाट भदौ २० गते एक जनालाई जीवितै उद्धार गरिएको थियो भने तीन जनाको शव निकालिएको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढीबाट सबैभन्दा बढी क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्स र भूमिगत पावरहाउस ध्वस्त भएका छन्। हेलिकप्टरमार्फत मिनी एस्काभेटर पुर्‍याएर नेपाली सेना सुरुङभित्र २७५ मिटरसमम्म प्रवेश गरी खोजी गरिरहेको छ।

लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले ग्यास वेल्डिङमार्फत सुरुङमा प्वाल बनाएर भित्र प्रवेश गर्दा दुई वटा शव फेला पारेका थिए। यस्तै, चिलिमे जलविद्युत् आयोजनामा बबक्याट तथा अन्य एस्काभेटरको प्रयोग गरी सुरुङको ९० मिटरभित्रबाट दुई वटा शव निकालिएको छ।

नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार टोली अडिट सुरुङको १.७ किलोमिटरभित्रसम्म पुगेको छ। सो क्रममा एउटा गाडी फेला परेको छ। बाढीले पुरेका ६ वटा आवासीय र एउटा कार्यालय भवनको खोजीका लागि १५ मिटरसम्म गहिराइमा उत्खनन भइरहेको छ।

प्रधानमन्त्री शाहले जोखिमपूर्ण अवस्थामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै भारत, चीन र कोरियाका विशेषज्ञ टोलीसमेत खोज तथा उद्धारमा परिचालित रहेको बताएका छन्।

विपद्को यस घडीमा राज्यले आफ्नो मानवीय दायित्व र जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री शाहले सीमित स्रोतसाधनका बाबजुद सुरुङभित्र प्रवेश गरेर अन्तिम अवस्थासम्म खोज तथा उद्धार कार्य जारी राखिने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय