☰

वंशावलीदेखि जीवनसाथी खोज्नेसम्मका सुविधा समेटिएको ‘मेरो पुस्ता’ एप सार्वजनिक

काठमाडौं । नेपाली परिवारको इतिहास, वंशावली, संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट संरक्षण गर्दै आधुनिक पुस्ताको आवश्यकतालाई समेत सम्बोधन गर्ने उद्देश्यसहित विकास गरिएको ‘मेरो पुस्ता’ मोबाइल एप सार्वजनिक भएको छ।

चितवन घर भई सूचना प्रविधिको क्षेत्रमा सक्रिय मुकुन्द कँडेलको परिकल्पना तथा नेतृत्वमा विकास गरिएको उक्त एपमा डिजिटल वंशावली, नेपाली पात्रो, पञ्चाङ्ग, जन्मकुण्डली, ज्योतिष, वैवाहिक सम्बन्धका लागि जीवनसाथी खोज्ने सेवा तथा विभिन्न धार्मिक, सांस्कृतिक र दैनिक उपयोगका सुविधाहरू समावेश गरिएका छन्।

परम्परागत पारिवारिक मूल्य र आधुनिक प्रविधिबीच सम्बन्ध स्थापित गर्दै विभिन्न पुस्तालाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यले ‘मेरो पुस्ता’ विकास गरिएको हो। यसको एन्ड्रोइड एप सार्वजनिक भएसँगै प्रयोगकर्ताले मोबाइलबाटै यी सेवाहरू उपयोग गर्न सक्नेछन्।

एपको प्रमुख आकर्षणमध्ये युवा पुस्तालाई लक्षित ‘शुभ लगन सेवा’ रहेको छ। पछिल्लो समय अध्ययन, रोजगारी तथा वैदेशिक बसाइँसराइका कारण उपयुक्त जीवनसाथी खोज्ने परम्परागत प्रक्रिया चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस सेवाले नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

‘शुभ लगन सेवा’मार्फत विवाह गर्न इच्छुक युवायुवतीले उमेर, शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि, बसोबासको स्थान, व्यक्तिगत रुचि र प्राथमिकताका आधारमा सम्भावित जीवनसाथी खोज्न सक्नेछन्। नेपाली समाजमा विवाहका क्रममा महत्व दिइने गोत्र, जन्मकुण्डली र ज्योतिषीय अनुकूलतालाई समेत यसमा समेटिएको छ।

प्रयोगकर्ताको व्यक्तिगत विवरण र गोपनीयतालाई ध्यानमा राख्दै सम्पर्कसम्बन्धी जानकारी आदानप्रदानमा अनुमति तथा स्वीकृतिको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै, एपमा समावेश गरिएको डिजिटल वंशावली अर्को महत्वपूर्ण विशेषता हो। बढ्दो बसाइँसराइ र पुस्ताबीचको भौगोलिक दूरीका कारण नयाँ पुस्ताले आफ्ना पुर्खा, नातासम्बन्ध र पारिवारिक इतिहासबारे पर्याप्त जानकारी पाउन नसकिरहेको अवस्थालाई ध्यानमा राखेर यो सुविधा विकास गरिएको हो।

यसबाट प्रयोगकर्ताले बाबुआमा, हजुरबुबा–हजुरआमा, छोराछोरीलगायत परिवारका सदस्यलाई जोडेर बहुपुस्ते पारिवारिक संरचना तयार गर्न सक्नेछन्। पारिवारिक तस्बिर, सम्झना र महत्वपूर्ण विवरणसमेत डिजिटल रूपमा सुरक्षित राख्न सकिने व्यवस्था गरिएको छ। यसले परिवारको इतिहास र पुर्खासँग सम्बन्धित जानकारी भावी पुस्तासम्म पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

‘मेरो पुस्ता’मा नेपाली पात्रो तथा पञ्चाङ्गसम्बन्धी सुविधा पनि उपलब्ध छन्। प्रयोगकर्ताले तिथि, नक्षत्र, योग, करण, चाडपर्व, व्रत तथा महत्वपूर्ण धार्मिक दिनहरूको जानकारी प्राप्त गर्न सक्नेछन्। यसका साथै दैनिक राशिफल, ग्रहगोचर र जन्मकुण्डली निर्माणलगायत ज्योतिषसम्बन्धी सुविधा पनि समावेश गरिएको छ।

नेपाली समाजका धार्मिक संस्कार र सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले विभिन्न पूजाविधि, गुरुपूजन विधि, स्तोत्र तथा धार्मिक र आध्यात्मिक सामग्रीसमेत एपमा राखिएको छ।

पारिवारिक तथा सांस्कृतिक सेवाबाहेक एपमा समाचार, मौसमसम्बन्धी जानकारी, विदेशी विनिमय दर, भूकम्पसम्बन्धी सूचना र एफएम रेडियो सुन्न सकिने सुविधा पनि उपलब्ध छ। नेपाली युनिकोड, मिति रूपान्तरण, क्याल्कुलेटर, पोडकास्ट तथा मनोरञ्जनका लागि लुडोलगायत खेलहरू पनि यसमा समावेश गरिएका छन्।

संस्थापक कँडेलका अनुसार ‘मेरो पुस्ता’लाई नेपालमा मात्र सीमित नराखी विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो परिवार, पुर्खा, संस्कृति र पहिचानसँग जोड्ने साझा डिजिटल माध्यमका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।

आगामी दिनमा डिजिटल वंशावलीलाई थप व्यवस्थित बनाउने, पारिवारिक इतिहास र सम्झना संरक्षणका सुविधा विस्तार गर्ने तथा युवा पुस्तालाई लक्षित ‘शुभ लगन सेवा’लाई थप प्रभावकारी बनाउने योजना रहेको उनले बताएका छन्। प्रयोगकर्ताको गोपनीयता, व्यक्तिगत विवरणको सुरक्षा र सेवाको विश्वसनीयतालाई प्राथमिकतामा राख्दै प्लेटफर्मलाई निरन्तर विस्तार गर्ने लक्ष्य पनि राखिएको छ।

‘मेरो पुस्ता’को एन्ड्रोइड एप गुगल प्ले स्टोरमा उपलब्ध छ। प्रयोगकर्ताले गुगल प्ले स्टोरमा ‘Mero Pusta’ खोजेर एप डाउनलोड गर्न वा वेबसाइटमार्फत सेवा प्रयोग गर्न सक्नेछन्।

वेबसाइट: www.meropusta.com
गुगल प्ले स्टोर: https://play.google.com/store/apps/details?id=com.meropusta.app
सम्पर्क: [email protected]

प्रतिक्रिया