☰

भन्सारमा वस्तुको विवरण लुकाउन नपाइने, यस्तो छ नयाँ मार्गदर्शन

काठमाडौं । वैदेशिक व्यापारलाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले भन्सार विभागले आयात तथा निर्यात हुने वस्तुको विवरण घोषणामा कडाइ गरेको छ । अब भन्सारबाट आयात–निर्यात गरिने वस्तुको ब्रान्ड, मोडेल, साइज र प्रकृतिअनुसार आवश्यक अन्य विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ ।

यसअघि वस्तुको सामान्य विवरण उल्लेख गरेर भन्सार प्रक्रिया पूरा गर्ने अभ्यास रहेकामा अब प्रज्ञापनपत्रमा वस्तुको वास्तविक पहिचान खुल्ने गरी विस्तृत विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको हो । भन्सार मूल्यांकनमा हुने अनियमितता नियन्त्रण गर्नुका साथै वैदेशिक व्यापारसम्बन्धी तथ्यांकलाई विश्वसनीय बनाउने उद्देश्यले विभागले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

विभागले ‘किटानी विवरण घोषणासम्बन्धी मार्गदर्शन’ जारी गर्दै वस्तुको विवरण स्पष्ट रूपमा घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । भन्सार ऐनले दिएको अधिकार प्रयोग गरी जारी गरिएको मार्गदर्शनले आयातकर्ता तथा निर्यातकर्ताले वस्तुको यथार्थ विवरण प्रस्तुत गर्नुपर्ने दायित्वलाई थप स्पष्ट पारेको छ ।

नयाँ व्यवस्थाअनुसार घोषणा गरिएको विवरण र वास्तविक वस्तुको पहिचानमा फरक देखिएमा वा आवश्यक विवरण अपूर्ण राखिएमा प्रचलित कानुनअनुसार दण्ड, जरिवाना तथा अन्य कानुनी कारबाही हुन सक्नेछ ।

ब्रान्ड र मोडेलको विवरण अनिवार्य

मार्गदर्शनअनुसार वस्तुको आधिकारिक कागजात वा प्याकेजिङमा उल्लेख भएको ब्रान्डलाई मुख्य आधार मानेर विवरण घोषणा गर्नुपर्नेछ । कुनै वस्तुमा ब्रान्ड उल्लेख नभएको अवस्थामा उत्पादक कम्पनीको नाम वा आधिकारिक व्यापारिक संस्थाको लेबलका आधारमा पहिचान खुलाउन सकिने व्यवस्था गरिएको छ । वस्तुको पहिचान खुलाउने कुनै विवरण उपलब्ध नभएको सीमित अवस्थामा मात्र ‘एनए’ उल्लेख गर्न पाइने व्यवस्था छ ।

त्यस्तै, वस्तुको प्राविधिक विशेषता, डिजाइन वा प्रकारअनुसार मोडेलको विवरण खुलाउनुपर्नेछ । औद्योगिक फिल्टर तथा उपकरणजस्ता वस्तु आयात गर्दा सामान्य नाम मात्र उल्लेख गरेर पुग्ने छैन । त्यस्ता वस्तुको आधिकारिक मोडेल वा पार्ट नम्बर उपलब्ध भएमा त्यसलाई समेत स्पष्ट रूपमा घोषणा गर्नुपर्नेछ ।

वस्तुको प्रकृतिअनुसार थप विवरण पनि अनिवार्य गरिएको छ । कृषि उपजको हकमा जात, कपडाको हकमा प्रकार तथा रासायनिक पदार्थ र कोइलाको हकमा गुणस्तर वा ग्रेड खुलाउनुपर्नेछ । त्यसैगरी वस्तुको साइज उल्लेख गर्दा लम्बाइ, चौडाइ, मोटाइ, आकार र क्षमताजस्ता आवश्यक विवरण स्पष्ट पार्नुपर्ने व्यवस्था गरिएको छ ।

तयारी कपडा तथा जुत्ता–चप्पलको हकमा वयस्क र बालबालिकाका वस्तु छुट्याएर उपयुक्त साइज उल्लेख गर्नुपर्नेछ । फाइबर ब्ल्यांकेटजस्ता वस्तुको विवरण घोषणा गर्दा लम्बाइ र चौडाइसम्बन्धी महलसमेत खाली छोड्न नपाइने व्यवस्था गरिएको छ ।

राजस्व छली नियन्त्रण र तथ्यांकमा एकरूपता

भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार वस्तुको अस्पष्ट विवरण प्रस्तुत गरी राजस्व छली गर्ने वा वैदेशिक व्यापारको तथ्यांकलाई भ्रामक बनाउने प्रवृत्ति नियन्त्रण गर्न नयाँ मार्गदर्शन ल्याइएको हो । यो व्यवस्था कागजी प्रक्रियामा मात्र सीमित नराखी प्रभावकारी रूपमा कार्यान्वयन गरिने विभागको भनाइ छ ।

नयाँ व्यवस्थाले भन्सार जाँचपास प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउनुका साथै वस्तुको पहिचान तथा मूल्यांकनमा एकरूपता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । वस्तुको वास्तविक विवरण उपलब्ध हुँदा भन्सार प्रशासनलाई मूल्यांकन तथा वर्गीकरण गर्न सहज हुने र गलत विवरणका कारण उत्पन्न हुने समस्या कम हुने विश्वास विभागले लिएको छ ।

यस व्यवस्थाबाट सरकारी राजस्व संकलनमा पारदर्शिता कायम गर्न र आयात–निर्यातसम्बन्धी आधिकारिक तथ्यांकको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, नेपालले सार्वजनिक गर्ने वैदेशिक व्यापारसम्बन्धी तथ्यांकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप विश्वसनीय बनाउन पनि यसले योगदान पुर्‍याउने देखिन्छ ।

प्रतिक्रिया