काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि संस्थालाई निलम्बन गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार सरकारबाट पटकपटक दिइएका निर्देशन पालना नगरेको तथा संगठनका पदाधिकारीहरूले स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि निलम्बनको निर्णय गरिएको हो ।
मन्त्रालयले यसअघि असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो । उक्त छलफलमा गत मंसिर १२ गते जारी गरिएको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ ।
सरकारी निर्देशनको निरन्तर अवज्ञा तथा संस्थाको विधानविपरीत गतिविधि भएको निष्कर्षसहित मन्त्रालयले एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो ।
मन्त्रालयले निलम्बनसम्बन्धी सूचना जारी भइसकेपछि एन-प्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गतिविधि सञ्चालन गरेमा त्यस्ता कार्य गैरकानुनी हुने चेतावनीसमेत दिएको छ । त्यस्ता गतिविधिमा संलग्न हुनेमाथि कानुनअनुसार कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।