☰

सेयर बजारमा हरियाली, नेप्सेसँगै कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको कारोबारको बुधबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ ।

बजारमा परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबार ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँमा खरिदबिक्री भएका छन् ।

अघिल्लो कारोबार दिन मंगलबार ३६० कम्पनीका १ करोड ३३ लाख ४६ हजार २२६ कित्ता सेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँमा कारोबार भएका थिए । यसअनुसार बुधबार कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीले बढेको छ ।

बुधबार कारोबारमा आएका समूहगत उपसूचकमध्ये व्यापार समूहबाहेक सबै समूहमा वृद्धि भएको छ । जलविद्युत् समूहको उपसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ ।

त्यस्तै, वित्त समूह १.५५ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह १.५९ प्रतिशत, बैंकिङ समूह १.३६ प्रतिशत, होटल तथा पर्यटन समूह १.३४ प्रतिशत र विकास बैंक समूह १.११ प्रतिशतले बढेका छन् ।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । बुधबार २४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३५ कम्पनीको घटेको छ । तीन कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

यस दिन बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । त्यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले वृद्धि भएको छ ।

नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार देखिनुले बुधबारको बजारमा खरिद चाप बढेको संकेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय