काठमाडौँ । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक साझेदारी तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित ‘नेपाल–भारत क्रस-बोर्डर टुरिजम कनेक्ट २०२६’ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा अक्टोबर २५ देखि २८ (कात्तिक ८ देखि ११) सम्म सञ्चालन भएको अभियानले दुई देशबीच पर्यटन सहकार्य विस्तारमा जोड दिएको छ ।
‘सीमा जोडौँ, मित्रता बढाऔँ, पर्यटन विकास गरौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता थियो । अभियानले दुवै देशका पर्यटन गन्तव्यको संयुक्त प्रचारप्रसार, व्यावसायिक सम्बन्ध विस्तार र पर्यटक आवागमन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथिका रूपमा राजेन्द्र प्रजापति सहभागी भएका थिए । उद्घाटन समारोहमा लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेल्बासे प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।
अभियानमा एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेर्चन, कार्यक्रम संयोजक तथा मौलाकालिका केवलकार र इलाहोटल मौलाकालिकाका महाप्रबन्धक लक्ष्मण थापा, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका राजेश सिन्हा, इन्डो–नेपाल टुरिजम सोसाइटीका डा. जेपी सिंह तथा भारतीय सामग्री निर्माता ऋषि अरोरालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल, पाटा नेपाल च्याप्टर, नेपाल र भारतका पर्यटनसम्बन्धी सरकारी निकाय, प्रदेश तथा स्थानीय सरकार, पर्यटन व्यवसायी, ट्राभल तथा टुर सञ्चालक, निजी क्षेत्रका संस्था र पर्यटनसम्बन्धी संघसंस्थाले सहयोग गरेका थिए । आयोजकले आतिथ्य साझेदार होटल, रिसोर्ट, रेस्टुरेन्ट, पर्यटन प्रतिष्ठान, सञ्चारमाध्यम, सञ्चारकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ ।
आयोजकका अनुसार यस अभियानको विशेष पक्ष नेपाल सरकार वा कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग नलिई निजी क्षेत्र, पर्यटन व्यवसायी, आतिथ्य साझेदार तथा सहयोगी संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न गर्नु हो । आपसी समन्वय र सामूहिक प्रतिबद्धताबाट पर्यटन प्रवर्द्धनका अभियान सञ्चालन गर्न सकिने उदाहरणका रूपमा यसलाई प्रस्तुत गरिएको छ ।
कार्यक्रमको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा नेपाल–भारत पर्यटन परिषद् (एनबीटीसी) स्थापना गर्ने घोषणा गरिएको छ । प्रस्तावित परिषद्ले नेपाल र भारतका पर्यटन व्यवसायीबीच दीर्घकालीन सहकार्य विस्तार, संयुक्त पर्यटन प्याकेज निर्माण, व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा गन्तव्यहरूको संयुक्त प्रचारप्रसारलाई संस्थागत बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
आयोजकले यो अभियानलाई एउटा कार्यक्रमका रूपमा मात्र नभई नेपाल र भारतबीच पर्यटनमार्फत मित्रता, समृद्धि र सहकार्य विस्तार गर्ने साझा प्रयासका रूपमा लिएको जनाएको छ । आगामी दिनमा दुवै देशका सरकार, प्रदेश तथा स्थानीय तह, निजी क्षेत्र, पर्यटन व्यवसायी, आतिथ्य साझेदार र सञ्चारमाध्यमसँग सहकार्य गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।