काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवात र पश्चिमी वायुको प्रभाव अझै कायम रहेकाले देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले आज देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार लगातारको वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम बढेको छ। त्यस्तै, विभिन्न नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
वर्षाका कारण पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा समेत क्षति पुगेको छ। खेतमा काटेर राखिएको धान भिज्ने तथा खेतमै रहेको बालीमा क्षति पुग्ने भएपछि किसानहरू चिन्तित बनेका छन्।
महाशाखाका अनुसार आगामी दिनमा मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। यद्यपि तत्कालका लागि नदी तटीय क्षेत्र, पहिरोको उच्च जोखिम भएका स्थान तथा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।