काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । चक्रवातबाट राज्यका ७१४ गाउँ प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
२८ अक्टोबर २०२६ को बिहान भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात बुधबार बिहान करिब १ः२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न थालेको थियो । उक्त क्षेत्र यानमको दक्षिणमा तथा बापटला र विशाखापट्टनमबीच पर्छ ।
चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उडेका छन् भने रुख तथा विद्युत्का खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् । भारतको ओडिशाका दक्षिणी जिल्लाहरूमा समेत तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ ।
प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेको छ भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ । चक्रवातका कारण जनजीवन प्रभावित हुनुका साथै कृषि क्षेत्रमा समेत क्षति पुगेको छ ।
कमजोर बन्दै चक्रवात अर्नब
चक्रवात अर्नबको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो । हावाको झोक्का भने प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ ।
जमिनमा प्रवेश गरेपछि चक्रवातको तीव्रता क्रमशः घट्दै गएको छ । सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीमा रहेको प्रणालीलाई घटाएर ‘भीषण चक्रवाती आँधी’को श्रेणीमा राखिएको छ ।
बुधबार दिउँसोसम्म यो कमजोर भएर सामान्य चक्रवाती आँधीमा परिणत हुने र साँझसम्म अझ कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणालीमा बदलिने अनुमान गरिएको छ ।
नेपालमा पनि वर्षा र हिमपातको सम्भावना
भारतमा विकसित चक्रवात अर्नबको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलमा रहेको प्रणालीसँग मिसिएपछि वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव बुधबारदेखि नै देखिन थाल्नेछ । बिहीबार रातिदेखि उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य स्थानमा वर्षा हुने सम्भावना छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ । केही स्थानमा भने भारी वर्षा वा हिमपातको समेत सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिएकी छन् ।
सम्भावित मौसम प्रतिकूलतालाई ध्यानमा राख्दै महर्जनले उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेकी छन् । हिमाली क्षेत्रमा पुगिसकेका व्यक्तिलाई सुरक्षित स्थानतर्फ फर्किन र जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन पनि उनले सुझाव दिएकी छन् ।
चक्रवातको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा मौसम बदली हुने र वर्षा तथा हिमपात हुन सक्ने भएकाले विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर मात्र यात्रा गर्नुपर्ने देखिन्छ ।