काठमाडौँ । निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएपछि नेपालका फाइनान्स कम्पनीहरूको वित्तीय स्वास्थ्यमा दबाब बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बन्दै गएको हो।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १६ वटा फाइनान्स कम्पनीमध्ये १४ वटाको औसत निष्क्रिय कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ। तीमध्ये ६ वटा कम्पनीको निष्क्रिय कर्जा अनुपात दोहोरो अंकमा पुगेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक सम्बन्धित कम्पनीहरूले बुझाएका अपरिष्कृत वित्तीय विवरणमा आधारित छन्। अन्तिम लेखापरीक्षणपछि तथ्यांकमा केही फेरबदल हुन सक्ने भए पनि हालको अवस्थाले फाइनान्स कम्पनीहरूमा कर्जा असुली र सम्पत्तिको गुणस्तरसम्बन्धी समस्या गहिरिँदै गएको संकेत गरेको छ।
निष्क्रिय कर्जाको अनुपात हेर्दा जानकी फाइनान्स सबैभन्दा कमजोर अवस्थामा देखिएको छ। कम्पनीको कुल कर्जामध्ये ६१.५५ प्रतिशत हिस्सा निष्क्रिय कर्जामा रहेको छ। अर्थात् कम्पनीले प्रवाह गरेको प्रत्येक १०० रुपैयाँ कर्जामध्ये करिब ६२ रुपैयाँ असुलीको दृष्टिले समस्याग्रस्त बनेको अवस्था छ।
जानकी फाइनान्सको समस्या निष्क्रिय कर्जामा मात्र सीमित छैन। कम्पनीको प्राथमिक पूँजी र कुल पूँजीकोष दुवै २५ करोड २७ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक रहेको छ। प्राथमिक तथा कुल पूँजी पर्याप्तता अनुपातसमेत ऋणात्मक ६.१४ प्रतिशतमा झरेको छ।
६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको पूँजीकोष ऋणात्मक हुनुमा सञ्चित घाटाको ठूलो प्रभाव देखिन्छ। लामो समयदेखि बढ्दै गएको घाटाले कम्पनीको पूँजी आधारमा गम्भीर क्षति पुर्याएको देखिन्छ।
त्यस्तै, जानकी फाइनान्सको कर्जा–निक्षेप अनुपात ९८.५७ प्रतिशत पुगेको छ। यो नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमाभन्दा माथि हो। यसले कम्पनीमा कर्जा गुणस्तरका साथै स्रोत व्यवस्थापन र पूँजी पर्याप्तताको समस्या पनि एकैपटक देखिएको संकेत गर्छ।
राष्ट्र बैंकको विवरणअनुसार फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जाको अवस्था समग्रमा चिन्ताजनक देखिएको छ। १४ मध्ये ६ वटा कम्पनीको एनपीएल अनुपात १० प्रतिशतभन्दा माथि पुगेको छ।
जानकी फाइनान्सपछि पोखरा फाइनान्सको निष्क्रिय कर्जा अनुपात सबैभन्दा उच्च देखिएको छ। पोखरा फाइनान्सको एनपीएल २०.८४ प्रतिशत पुगेको छ।
त्यस्तै, नेपाल फाइनान्सको निष्क्रिय कर्जा अनुपात १३.८३ प्रतिशत, बेस्ट फाइनान्सको १३.६९ प्रतिशत र गोर्खाज फाइनान्सको १३.३२ प्रतिशत रहेको छ। सेन्ट्रल फाइनान्सको निष्क्रिय कर्जा अनुपात पनि १०.४० प्रतिशत पुगेको छ।
निष्क्रिय कर्जा बढ्दै जाँदा फाइनान्स कम्पनीहरूलाई नयाँ व्यवसाय विस्तारभन्दा पुराना कर्जा असुली र सम्पत्तिको गुणस्तर सुधारमा बढी ध्यान दिनुपर्ने अवस्था आएको छ। कर्जा बिग्रिँदै जाँदा ब्याज आम्दानीमा असर पर्नुका साथै सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि थप रकम छुट्याउनुपर्ने हुन्छ।
यसको प्रत्यक्ष असर कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ र लाभांश वितरण क्षमतामा पर्न सक्छ। विशेषगरी एनपीएल दोहोरो अंकमा पुगेका संस्थाले कर्जा असुलीमा सुधार गर्न नसके आगामी आर्थिक वर्षमा समेत सेयरधनीलाई आकर्षक प्रतिफल दिन कठिन हुने देखिन्छ।
पूँजीकोषसमेत कमजोर भएका कम्पनीमा थप कर्जा बिग्रिँदै गए नयाँ पूँजी जुटाउनुपर्ने, व्यवसायको आकार घटाउनुपर्ने वा मर्जर तथा प्राप्तिको विकल्प रोज्नुपर्ने दबाब बढ्न सक्छ। त्यसैले फाइनान्स कम्पनीहरूको आगामी चुनौती नयाँ कर्जा विस्तारभन्दा विद्यमान कर्जाको गुणस्तर सुधार, प्रभावकारी असुली र पूँजी आधार बलियो बनाउनुमा केन्द्रित हुने देखिएको छ।