बाढीले बगाएको घरभित्र ११ दिनपछि जीवित भेटिइन् चन्डिका श्रेष्ठ

काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले घरसहित बगाएकी चन्डिका श्रेष्ठको ११ दिनपछि जीवित उद्धार गरिएको छ । बाढीले उनको घर बगाएर मूल स्थानभन्दा करिब ५० मिटर पर पुर्‍याएको अवस्थामा प्रहरीले घरभित्रबाट उनलाई जीवितै उद्धार गरेको हो ।

स्थानीय नारायणलाल डंगोलका अनुसार चन्डिकाको घर उनको घरभन्दा करिब ७० मिटर पछाडि थियो । तर बाढीले घरसहित बगाएर आफ्नो घर रहेको स्थानभन्दा करिब ५० मिटर पर पुर्‍याएको उनले बताए ।

विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बाढीले बगाएको घरतर्फबाट मानिसको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाकर्मीको टोलीले घरको संरचनाभित्र फसेकी चन्डिकाको उद्धार गरेको हो ।

उद्धारपछि उनलाई उपचारका लागि छाउनी अस्पताल लगिएको छ । चन्डिकाका श्रीमान् भने अझै सम्पर्कविहीन रहेको उनका देवरले बताएका छन् ।

बाढी आएको ११ दिनपछि घरको भग्नावशेषबाट चन्डिकाको जीवित उद्धार भएपछि बाढीले बगाएका तथा पुरिएका अन्य घरका संरचनाभित्र पनि मानिस फसेको हुनसक्ने आशंका बढेको छ ।

यसअघि शनिबार नै अपर त्रिशूली–१ बाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको थियो । त्यस्तै, शुक्रबार त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवित उद्धार गरिएको थियो ।

रसुवा गढीदेखि धादिङको गलौंदी क्षेत्रसम्म बाढीले ठूलो क्षति पुर्‍याएको छ । कतिपय घर पुरिएका छन् भने कतिपय घर बाढीले पल्टाएर तथा बगाएर लगेको छ । यस्ता संरचनाभित्र समेत मानिस फसेको हुनसक्ने भएकाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय