काठमाडौं– मुक्तिनाथ विकास बैंकले अन्तराष्ट्रिय स्तरको अवार्ड प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले गरेको अध्ययन तथा मूल्यांकनबाट अवार्ड प्रदान गरिएको हो ।
लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट बैंक पुरस्कृत भएको हो । बैंकले नगद एक लाख युरो प्राप्त गरेको छ । उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एक एक लघुवित्त संस्था छनोट भएका थिए ।
बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनका आधारमा मूल्यांकनबाट छनोट भएको हो ।
भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए ।
सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ । बैंकको ४२ जिल्लामा रहेका १३८ मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानी रहेको छ ।