काठमाडौं । नेपालले एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
बिहीबार मलेसियाको युकेएम युएसडी ओभलमा भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै नेपालसामु १०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाए । उनले ६८ बलमा चार चौका प्रहार गरे । ईशान पाण्डेले २०, कप्तान रोहितकुमार पौडेलले १० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन जोडे । तेस्रो विकेटका लागि अर्जुन र ईशानबीच ५७ रनको साझेदारी भएको थियो ।
मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले समान एक विकेट लिए ।
त्यसअघि मलेसियाका लागि कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ तथा मोहम्मद स्याहदत रमिलले १३ रन बनाए ।
नेपालका करण केसीले चार विकेट लिए । ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।
जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको छ र समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । मलेसिया दुई अंकसहित दोस्रो स्थानमा छ ।
नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो । यता मलेसियाले पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले हराएको थियो ।
नेपालले अब आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ ।