काठमाडौं–शेयर बजारमा जलविद्युत्मा लगानीकर्ताको वितृष्णाकै अवस्थामा पुगेको थियो । किनकी हाइड्रोपावर कम्पनीका अधिकांश शेयरमा एक सय रुपैयाँ अंकित शेयरको मूल्य एक सय रुपैयाँ तल थियो । त्यसले हाइड्रोपावरको आइपिओ आउँदा पनि लगानीकर्ता त्यति उत्साहित थिएनन् ।
तर, पछिल्लो समय हाइड्रोपावरको शेयरमूल्य वृद्धि भएर हरियो बत्ति बलेकाले हाइड्रोपावर कम्पनीले बिक्रीमा ल्याउने आइपीओमा लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ ।
कम्पनीले सर्वसाधारणका लागि १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयरको आवेदन परेको छ । मागभन्दा अत्याधिक बढी आवेदन परेपछि आइपीओमा आवेदन गर्ने करिब ७२ प्रतिशत आवेदकको हात रित्तो हुने भएको छ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको थियो । कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रेटिङ भए पनि लगानीकर्ताको आकर्षण देखिएको छ ।
धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने भएका छन् । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सो मध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको थियो । बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो ।