राजस्व संकलन लयमा फर्कियो, २ खर्ब ६४ अर्ब संकलन

काठमाडौं–कोभिडको कारण आयात, निर्यात प्रभावित, व्यापार व्यवसाय ठप्प हुँदा राजस्व संकलनमा आएको गिरावटमा क्रमिक सुधार हुँदै आएको छ । लक्ष्य अनुसार राजस्व संकलन नभए पछि दैनिक प्रशासनिक खर्च सञ्चालनमा कठिनाई भएपछि सरकारले ऋण पत्र जारी गरेर ऋण उठाएको थियो ।

कोभिडसँगै बजार खुलेर चहलपहल सुरु भएपछि राजस्व संकलनमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म २ खर्ब ६४ अर्ब रूपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । कार्तिकसम्म २ खर्ब ६२ अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा लक्ष्य भन्दा दुई अर्ब रुपैयाँ धेरै राजस्व संकलन भएको छ ।

अघिल्ला महिनाको तुलनामा कार्तिकमा राजस्व संकलनमा धेरै सुधार आएर लक्ष्य भन्दा धेरै राजस्व संकलन भएपछि लयमा फर्किएको हो । कार्तिकमा ६४ अर्ब ९५ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६७ अर्ब ७८ करोड रूपैयाँ संकलन भएको छ ।पोहोरको तुलनामा पनि राजस्व संकलन वृद्धि भएको छ । पोहोर कार्तिकमा ५८ अर्ब १३ करोड रूपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया