काठमाडौं—कोभिडको कारण लामो समय बन्द भएका विद्यालय सञ्चालन गर्न सरकारले नयाँ ढाँचा तयार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने ठाउँका लागि मापदण्ड तयार गरेको हो ।
स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनका लागि कायढाँचा तयार गरेको मन्त्रालयले जनाएको छ ।
सरकारले बनाएको ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ मा जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न अभिप्रेरित गरेको छ ।
कोभिड संक्रमणका बीच विद्यालय खोल्न तयार गरेको कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालयमा जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सञ्चालन गर्ने उल्लेख छ ।
विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । संक्रमणको जोखिम मूल्यांकन गरी आवश्यकताका आधारमा विद्यालय बन्द गर्ने की खोल्ने निर्णय सम्बन्धित स्थानीय सरकारले गर्न सक्नेछन् ।
एकै समयमा सबै कक्षा वा अलग–अलग समयमा अलग–अलग कक्षा सन्चालन गर्न सक्ने भन्ने निर्णय स्थानीय तहको समन्वयमा विद्यालयले गर्नेछन् । यही मंसिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्तांकका लागि प्रत्यक्ष परीक्षा हुँदैछ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय (होम सेन्टर) का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ । परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशंका पैदा भएकाले प्रत्यक्ष परीक्षा सन्चालन गर्ने तयारी छ ।