☰

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, देशभर वर्षा र हिमपात

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। पश्चिमी वायुको आंशिक प्रभावसँगै चक्रवातको असरका कारण बिहीबारदेखि नै देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर सामान्यतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने र विभिन्न प्रदेशमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपात हुनसक्ने अनुमान छ।

शुक्रबार राति पनि देशका अधिकांश स्थानमा बदली रहने र मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। केही स्थानमा भारी वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्भावित वर्षालाई मध्यनजर गर्दै महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायत कृषि कार्य नगर्न अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यस्ता क्षेत्रमा पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ।

वर्षाका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त स्थान र सडक किनारमा पहिरो खस्न सक्ने सम्भावना रहेको छ। यसले सडक तथा हवाई यातायातसँगै दैनिक जनजीवनसमेत प्रभावित पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय