बाढी प्रभावितको खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेका छैनौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको शनिबार विदुरमा बसेको बैठकमा उनले बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, उपचार तथा सुरक्षित र उपयुक्त आश्रयस्थलमा बसोबासको व्यवस्था मिलाइएको जानकारी दिए। प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढी संयुक्त सुरक्षाफौज परिचालन गरिएको र हराएका तथा प्रभावित नागरिकको खोज तथा उद्धारका लागि दैनिक २५ वटासम्म हेलिकप्टरसहित आवश्यक उपकरण तथा राहत सामग्री परिचालन गरिएको उनले बताए।

मन्त्री तिमिल्सिनाले स्थल तथा हवाईमार्गबाट उद्धारमा ढिलाइ भएको गुनासो आउने अवस्था हुन नदिएको दाबी गरे। उनले खोज तथा उद्धारसँगै बाढी तथा पहिरोमा पुरिएका नागरिकका व्यक्तिगत धनसम्पत्तिसमेत सुरक्षित रूपमा निकाल्न सुरक्षाकर्मी निरन्तर प्रभावित क्षेत्रमा खटिरहेको बताए।

जलविद्युत् आयोजनाका सुरुङमार्गमा समेत सुरक्षाकर्मीले अहोरात्र खटिएर उद्धारमा सफलता हासिल गरेको उनले बताए। बाढीले सुरुङमार्गमा ठूलो क्षति पुर्‍याएपछि प्रवेशबिन्दु पहिचान गरी निरन्तर खोज तथा उद्धार गर्दा केहीको जीवन बचाउन सफल भएको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले हराएका व्यक्तिको खोजीका लागि राज्यले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। ‘एउटा व्यक्तिको ज्यान बच्छ भने कति खर्च लाग्छ भन्ने हिसाब नगरी राज्यले हराएका व्यक्तिको अवस्था खोज्छ,’ उनले भने।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको पुनर्उत्थानका लागि सरकारले तत्कालीन तथा दीर्घकालीन योजना ल्याउन लागेको जानकारी दिँदै उनले क्षतिग्रस्त स्थानमा तत्कालै नयाँ बस्ती निर्माण नगर्न आग्रह गरे।

बाढीले बगरमा परिणत भएका जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्दा भविष्यमा थप क्षति हुन सक्ने भन्दै उनले नागरिकलाई सुरक्षित स्थानमा आवासको व्यवस्था गर्न सरकार सहयोग तथा अनुदानसहितको योजना ल्याउने बताए। वेत्रावतीलाई पुरानै स्थानमा पुनःस्थापित गर्नेभन्दा सुरक्षित स्थानमा व्यवस्थित रूपमा विकास गर्न राज्यले पहल गर्ने उनको भनाइ थियो।

बाढीबाट भौतिक संरचनामा पुगेको क्षतिका कारण प्रभावित नागरिकको दैनिकी असहज बनेकाले सरकारले पूर्वाधार निर्माणका कामलाई पनि तीव्रता दिएको मन्त्री तिमिल्सिनाले बताए। तीन तहका सरकारबीच प्रभावकारी समन्वय गरी अवरुद्ध सडकमा वैकल्पिक मार्ग खोल्ने तथा बगेका पक्की पुल भएका स्थानमा बेलीब्रिज जडान गर्ने काम अघि बढाइएको उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय