☰

भोटेकोशी बाढीले सुस्ताएको पर्यटन व्यवसाय लयमा फर्किँदै

काठमाडौं । सन् २०२६ को १० महिनामा हवाई मार्ग हुँदै १० लाख आठ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। पर्यटक आगमनमा सुधार देखिएसँगै राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा पनि विदेशी पाहुनाको चहलपहल बढ्न थालेको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय शरद ऋतु सुरु भएसँगै विस्तारै पुरानै लयमा फर्किन थालेको हो। विशेषगरी पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेसँगै ठमेलका होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी तथा अन्य व्यवसायमा चहलपहल बढेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को अक्टोबरमा मात्रै एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल आएका छन्। बोर्ड सञ्चालक समितिका सदस्य सहदेव धमलाका अनुसार गत वर्षको तुलनामा सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्म पर्यटक आगमन ५.३६ प्रतिशतले वृद्धि भएको छ।

पर्यटक आगमनसँगै हिमाल आरोहण गतिविधि पनि उत्साहजनक देखिएको छ। यस वर्षको शरद ऋतुमा कात्तिक २० गतेसम्म ७७ देशका एक हजार ६१३ आरोहीले नेपालका ४७ हिमाल आरोहणका लागि अनुमति लिएका छन्।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार आरोहण अनुमति जारी गरेबापत विभागले ३३ करोड २९ लाख चार हजार ९२२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका हिमाल अवलोकन तथा आरोहण गर्न आउने पर्यटकले पर्यटन क्षेत्रको गतिविधि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

नेपाल आउने करिब ८० प्रतिशत विदेशी पर्यटक ठमेल पुग्ने गरेको व्यवसायीको भनाइ छ। काठमाडौं महानगरपालिकाका वडा नम्बर १६, १७, २६ र २७ मा फैलिएको ठमेलको ठूलो हिस्सा वडा नम्बर २६ मा पर्छ। पर्यटकीययाम सुरु भएसँगै यहाँका सडक, गल्ली, होटल तथा पसलमा विदेशी पर्यटकको उपस्थिति बाक्लिन थालेको छ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले पछिल्लो समय ठमेलका गल्लीमा विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढिरहेको बताए। पर्यटकीययामलाई व्यवस्थित बनाउन आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षालाई प्राथमिकतामा राखेर परिषद्ले काम गरिरहेको उनको भनाइ छ।

रातको समयमा हुने भीडभाड तथा शान्ति सुरक्षालाई ध्यानमा राख्दै परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी र महानगर प्रहरीसँग समन्वय गरेर सुरक्षा योजना बनाइरहेको डङ्गोलले जानकारी दिए।

ठमेलको त्रिदेवीमार्गमा रेड कास्मिर पश्मिना व्यवसाय सञ्चालन गर्दै आएका अनुप श्रेष्ठले भोटेकोशी बाढीपछि प्रभावित बनेको पर्यटन व्यवसायमा सुधार देखिन थालेपछि व्यवसायीमा आशा पलाएको बताए। विभिन्न समयमा हुने प्राकृतिक विपद्का कारण पर्यटन व्यवसायी निराश हुने अवस्था आए पनि विदेशी पर्यटकको निरन्तर आगमनले उत्साह थपेको उनको भनाइ छ।

तर, पछिल्लो समय नक्कली पश्मिना उत्पादन गरी सस्तो मूल्यमा बिक्री गर्ने प्रवृत्तिले लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायी समस्यामा परेको श्रेष्ठले गुनासो गरे। गुणस्तरहीन उत्पादनले वास्तविक पश्मिनाको बजार र व्यवसायीको आम्दानीमा असर पारेको उनको भनाइ छ।

लेखनाथ मार्गस्थित काठमाडौं आगन्तुक होटलका सञ्चालक पशुपति कँडेलले पर्यटकको सङ्ख्या बढे पनि होटल व्यवसायले अपेक्षित लाभ लिन नसकेको बताए। आतिथ्य सत्कार क्षेत्रमा बढेको अस्वस्थ प्रतिस्पर्धा र सस्तो मूल्यमा कोठा बिक्री गर्ने प्रवृत्तिका कारण विगतको तुलनामा व्यवसाय घटेको उनको भनाइ छ। यद्यपि, पछिल्लो समय ठमेलमा पर्यटकको चहलपहल भने राम्रो देखिन थालेको उनले बताए।

त्यस्तै, अमृत मार्गमा सगुन पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरेले पनि पछिल्लो समय ठमेलका पसलमा विदेशी पर्यटकको उपस्थिति बढेको बताए।

काठमाडौंको प्रमुख पर्यटकीय, सांस्कृतिक तथा व्यावसायिक केन्द्रका रूपमा रहेको ठमेल पदयात्रा, पर्वतारोहण, किनमेल, खानपान, सांस्कृतिक अनुभव र रात्रिकालीन मनोरञ्जनका लागि विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ। हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई आवश्यक पर्ने ज्याकेट, जुत्ता, झोला तथा अन्य पदयात्रा सामग्री यहाँ सहजै उपलब्ध हुन्छन्।

होटल, ट्राभल एजेन्सी, पदयात्रा सामग्रीका पसल, रेस्टुरेन्ट, बार, स्पा, ट्याटु स्टुडियो तथा यातायात सेवाको बाक्लो उपस्थितिले ठमेललाई पर्यटन व्यवसायको प्रमुख केन्द्र बनाएको छ। पर्यटकको आगमन बढ्दै जाँदा यहाँको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यवसायीले गरेका छन्।

कुन महिनामा कति पर्यटक भित्रिए ?

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३ विदेशी पर्यटक नेपाल आएका थिए। फेब्रुअरीमा एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४ र मेमा एक लाख दुई हजार ६२६ पर्यटक भित्रिएका थिए।

त्यस्तै, जुनमा ९१ हजार ३६३, जुलाईमा ७६ हजार ३७, अगस्टमा ९१ हजार ५६, सेप्टेम्बरमा ८८ हजार २५६ र अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन्।

बोर्ड सदस्य धमलाका अनुसार अघिल्लो वर्षको तुलनामा अप्रिलमा ७.३ प्रतिशत र अगस्टमा ३.६ प्रतिशतले पर्यटक आगमन घटेको थियो। तर, मेमा १९.३ प्रतिशत, जुनमा १९.५ प्रतिशत, जुलाईमा २.३ प्रतिशत, सेप्टेम्बरमा १२.१ प्रतिशत र अक्टोबरमा ३.४ प्रतिशतले पर्यटक आगमन बढेको छ।

पर्यटक आगमनको पछिल्लो तथ्याङ्कले नेपालको पर्यटन क्षेत्रमा सुधारको सङ्केत गरे पनि होटल तथा अन्य सेवा व्यवसायमा त्यसको लाभ समान रूपमा पुग्न नसकेको व्यवसायीको अनुभव छ। त्यसैले पर्यटकको सङ्ख्या बढाउनुसँगै उनीहरूको बसाइ अवधि र खर्च बढाउने वातावरण निर्माण गर्नु पनि पर्यटन क्षेत्रको अर्को चुनौती देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय