काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढिरहेको छ। तर उद्योगी तथा व्यवसायीले नयाँ लगानी विस्तारमा चासो नदेखाउँदा बैंकिङ प्रणालीमा ठूलो रकम निष्क्रिय बनेको छ। कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा करिब आठ खर्ब रुपैयाँ अधिक तरलता थुप्रिएको छ। यसले अर्थतन्त्रमा लगानीको माग कमजोर रहेको संकेत गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक १८ गतेसम्म बैंक तथा वित्तीय संस्थामा कुल ८५ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। तर यसमध्ये ६१ खर्ब १८ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ। निक्षेप र कर्जा प्रवाहबीचको ठूलो अन्तरले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना गरेको हो।
रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र विदेशी मुद्रा सञ्चितिमा आएको सुधारले बैंकिङ प्रणालीमा निक्षेप बढाउन सहयोग गरेको छ। तर त्यसअनुसार निजी क्षेत्रको लगानी विस्तार हुन सकेको छैन। उद्योग व्यवसाय विस्तार, नयाँ परियोजना सञ्चालन र उत्पादनमूलक क्षेत्रमा कर्जाको माग कमजोर हुँदा बैंकमा रकम थुप्रिँदै गएको छ।
बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्न र अन्य वित्तीय कारोबार सञ्चालन गर्न आवश्यकताभन्दा बढी रकम उपलब्ध हुने अवस्थालाई अधिक तरलता भनिन्छ। निक्षेप संकलन बढे पनि सोही अनुपातमा कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा यस्तो अवस्था देखिन्छ।
ब्याजदर न्यून हुँदा पनि कर्जाको माग बढ्न नसक्नु चिन्ताको विषय भएको नेपाल बैंकर एसोसिएसनका प्रमुख कार्यकारी अनिल शर्माले बताए। आर्थिक गतिविधि चलायमान हुन नसक्दा कर्जा विस्तार प्रभावित भएको उनको भनाइ छ।
‘सस्तो ब्याजमा पैसा उपलब्ध हुँदा पनि लगानी बढ्न सकेन,’ शर्माले भने, ‘आर्थिक गतिविधि चलायमान नभएका कारण कर्जा विस्तार हुन सकेको छैन।’ स्थिर सरकार बने पनि लगानी विस्तार हुन नसकेको उल्लेख गर्दै उनले यसको कारणबारे बैंक तथा राष्ट्र बैंकले समेत अध्ययन गरिरहेको बताए।
बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लगेका छन्। मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ। कर्जाको ब्याजदर पनि एकल अंकमा उपलब्ध हुन थालेको छ। तर सस्तो ब्याजदरले समेत लगानीकर्तालाई आकर्षित गर्न सकेको छैन।
बैंकिङ प्रणालीमा अधिक तरलता बढ्नुको प्रमुख कारण निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर हुनु हो। पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिले बैंकमा निक्षेप बढाए पनि निजी क्षेत्रले नयाँ उद्योग स्थापना, व्यवसाय विस्तार तथा ठूला परियोजनामा लगानी गर्न अपेक्षित चासो देखाएको छैन। लगानीको वातावरण, व्यावसायिक आत्मविश्वास, बजारको माग र आर्थिक गतिविधिमा आएको सुस्तताले कर्जाको माग प्रभावित भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ कोभिड महामारीदेखिका समस्या समाधान हुन नसक्दा व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। कोभिड महामारी, जेनजी आन्दोलन, विभिन्न समयमा भएका प्राकृतिक विपत्ति र सरकारको कमजोर खर्च क्षमताका कारण बजारमा माग बढ्न नसकेको उनको भनाइ छ।
‘एकपछि अर्को समस्याका कारण बजार चक्र प्रभावित भएको छ,’ श्रेष्ठले भने, ‘वस्तुको माग नबढ्दा सञ्चालनमा रहेका उद्योगले समेत पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन्। माग नबढेकाले नयाँ उद्योग खुलेका छैनन् र नयाँ उद्योग नखुल्दा लगानी विस्तार हुन सकेको छैन।’
जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका आक्रमणले पनि व्यवसायीको आत्मविश्वास कमजोर बनाएको श्रेष्ठले बताए। यद्यपि नयाँ स्थिर सरकार गठन भएपछि नीतिगत सुधारका प्रयास भइरहेकाले निजी क्षेत्रको मनोबल बढ्नेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ। सरकारले ५९ वटा ऐन संशोधन गरेर निजी क्षेत्रको विश्वास जित्ने प्रयास गरेको उनले बताए।
बैंकमा पर्याप्त रकम उपलब्ध हुँदाहुँदै उद्योग, व्यापार तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्नु अर्थतन्त्रका लागि चुनौती बनेको छ। सरकारी राजस्व संकलन र खर्चबीचको अन्तरले पनि बैंकिङ प्रणालीको तरलतामा प्रभाव पारेको छ। सरकारले राजस्व संकलन गरेअनुसार विकास तथा पुँजीगत खर्च गर्न नसक्दा सरकारी खातामा रकम थुप्रिने गरेको छ।
सरकारी खर्च कमजोर हुँदा निजी क्षेत्र र बजारमा पैसाको प्रवाह प्रभावित हुन्छ। विशेषगरी पुँजीगत खर्च न्यून हुँदा निर्माण व्यवसाय, उद्योग, आपूर्ति शृंखला र रोजगारी सिर्जनामा अपेक्षित गति आउन सकेको छैन। यसले बजारको माग कमजोर बनाउनुका साथै निजी क्षेत्रको लगानी निर्णयलाई समेत प्रभावित गरेको छ।
वाणिज्य बैंकमा ७७ खर्ब निक्षेप
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक १८ गतेसम्म बैंक तथा वित्तीय संस्थामा कुल ८५ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। यसमध्ये वाणिज्य बैंकहरूमा मात्रै ७७ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको छ।
अघिल्लो दिन अर्थात् कात्तिक १७ गतेसम्म वाणिज्य बैंकहरूमा ७७ खर्ब आठ अर्ब रुपैयाँ निक्षेप थियो। यसअनुसार एक दिनमै वाणिज्य बैंकहरूको निक्षेप सात अर्ब रुपैयाँले बढेको छ।
अन्य बैंक तथा वित्तीय संस्थामा भने निक्षेप सामान्य घटेको छ। कात्तिक १८ गतेसम्म त्यस्ता संस्थामा आठ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा अघिल्लो दिन आठ खर्ब १८ अर्ब रुपैयाँ थियो।
निक्षेपसँगै कर्जा लगानीमा पनि सामान्य वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार कात्तिक १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ६१ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन यस्तो लगानी ६१ खर्ब १४ अर्ब रुपैयाँ थियो। एक दिनमा कर्जा लगानी चार अर्ब रुपैयाँले बढेको देखिन्छ।
कुल कर्जामध्ये वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा ठूलो छ। कात्तिक १८ गतेसम्म वाणिज्य बैंकहरूले ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। अघिल्लो दिन यस्तो कर्जा लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ थियो। एक दिनमा वाणिज्य बैंकहरूको कर्जा लगानी तीन अर्ब रुपैयाँले बढेको छ।
अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने ६ खर्ब ८० अर्ब रुपैयाँमा स्थिर रहेको छ। वाणिज्य बैंकहरूको कर्जा प्रवाह सामान्य बढे पनि अन्य वित्तीय संस्थाको कर्जा विस्तारमा परिवर्तन देखिएको छैन।
निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर हुँदा बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ। राष्ट्र बैंकका अनुसार कात्तिक १८ गतेसम्म यस्तो अनुपात ७०.९६ प्रतिशत कायम भएको छ। यसले बैंकिङ प्रणालीमा कर्जा प्रवाहका लागि पर्याप्त स्रोत उपलब्ध भए पनि कर्जाको माग कमजोर रहेको देखाउँछ।
६ बैंकले घटाए निक्षेपको ब्याजदर
बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गएपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन्। मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट घटेर मंसिरमा ३.९२ प्रतिशत कायम भएको छ। यो ०.११ प्रतिशत विन्दुको गिरावट हो।
त्यस्तै संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.००३ प्रतिशतबाट घटेर २.९९०५ प्रतिशतमा झरेको छ।
ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा धेरै एक प्रतिशत विन्दुले कटौती गरेको छ। बैंकले कात्तिकमा ४.५ प्रतिशत रहेको ब्याजदर घटाएर मंसिरमा ३.५ प्रतिशत कायम गरेको हो।
कृषि विकास बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ। एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ।
त्यसैगरी लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।
बैंकहरूबीच निक्षेपको ब्याजदर घटाउने क्रम जारी रहँदा मुद्दती निक्षेपमा पैसा राख्ने बचतकर्ताले पाउने प्रतिफल थप घट्ने देखिएको छ। तर ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नुले अर्थतन्त्रमा लगानी विस्तारको समस्या ब्याजदरमा मात्र सीमित नरहेको संकेत गरेको छ।