☰

छठमय बन्यो मधेस, अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिँदै

काठमाडौं । लोकआस्था, धार्मिक विश्वास र सांस्कृतिक परम्पराको अनुपम संगम बनेको छठ महापर्वले यतिबेला तराई–मधेसलाई भक्तिमय बनाएको छ। घरआँगनदेखि गाउँबस्ती, नदी, पोखरी तथा जलाशयका किनारसम्म छठीमाताको महिमा गाउने परम्परागत लोकगीत गुञ्जिरहेका छन्। पूजाका सामग्रीले सजिएका छठघाट र व्रतालुहरूको श्रद्धाले मधेसको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप जीवन्त बनाएको छ।

“उजे मारबौ रे सुगवा धनुष से, ओइ पर सुगा मेरराए...” र “उजे काँचहि बाँसके चङ्गेरा, बहङ्गिया बहङ्गी लचकैत जाए...” जस्ता परम्परागत लोकभाकाले अहिले मधेसका गाउँबस्तीमा छुट्टै उत्साह थपेका छन्। छठका गीत, पूजाको तयारी र घाटमा बढेको चहलपहलले तराई क्षेत्रलाई नै भक्तिरसमा डुबाएको छ।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ महापर्वको तेस्रो दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ अर्पण गर्दैछन्। यसका लागि मधेस प्रदेशसहित देशका विभिन्न स्थानमा रहेका नदी, पोखरी र जलाशयका किनारमा छठघाट सजाइएको छ। साँझ अस्ताउन लागेको सूर्यलाई अर्घ अर्पण गर्न हजारौँ श्रद्धालु घाटमा भेला हुनेछन्।

छठ पर्वलाई लक्षित गर्दै मधेस प्रदेशका आठवटै जिल्लाका विभिन्न जलाशय तथा नदी किनार सरसफाइ गरी आकर्षक ढङ्गले सजाइएको छ। पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका छठघाटमा रंगीचंगी बत्ती, फूलमाला, केराका बोट तथा परम्परागत सजावटले विशेष रौनक थपेको छ। घाट व्यवस्थापन तथा सजावटमा स्थानीय युवा, सामाजिक संघसंस्था र सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ।

बाँसका सुप, दउरा र कोनियामा सजाइएका पूजासामग्री, केराका घरी, ठेकुवा, भुसुवा तथा विभिन्न फलफूल छठको विशेष आकर्षण बनेका छन्। परिवारका सदस्य, आफन्त र छरछिमेकको सामूहिक सहभागितामा मनाइने यस पर्वले धार्मिक आस्थासँगै पारिवारिक एकता, सामाजिक सद्भाव र आपसी सहयोगको भावना पनि बलियो बनाउँदै आएको छ।

३६ घण्टे निर्जल व्रतमा छठव्रती

छठ पर्वको सबैभन्दा कठिन र अनुशासित पक्षका रूपमा रहेको ३६ घण्टे निर्जल तथा निराहार व्रत सुरु भएको छ। पर्वको दोस्रो दिन खरना सम्पन्न गरेका व्रतालुहरूले प्रसाद ग्रहण गरेपछि यो कठोर व्रत आरम्भ गरेका हुन्।

खरनाका दिन माटोको चुल्होमा शुद्धतापूर्वक पकाइएको खीर, रोटी, केरा लगायतका प्रसाद ग्रहण गर्ने परम्परा छ। त्यसपछि व्रतालुहरूले अन्न र पानीसमेत त्यागेर सूर्यदेव तथा छठीमाताको आराधना गर्छन्। निरन्तर ३६ घण्टासम्म चल्ने यो व्रत भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि सम्पन्न हुनेछ।

छठ पर्वमा शुद्धता, पवित्रता र आत्मसंयमलाई विशेष महत्त्व दिइन्छ। पूजाका सामग्री तयार पार्नेदेखि प्रसाद पकाउने, घाट सजाउने र अर्घ अर्पण गर्नेसम्मका प्रत्येक विधिमा स्वच्छता र शुद्धताको विशेष ख्याल गरिन्छ। धार्मिक विश्वासअनुसार छठ व्रतले शारीरिक तथा मानसिक शुद्धता प्रदान गर्नुका साथै परिवारमा सुख, शान्ति, समृद्धि र सन्तान सुख प्राप्त हुने विश्वास गरिन्छ।

अस्ताउँदो र उदाउँदो सूर्यको समान उपासना

छठ महापर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धा र भक्तिभावका साथ अर्घ अर्पण गर्नु हो। संसारलाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्ने सूर्यदेवलाई प्रकृतिका प्रत्यक्ष देवताका रूपमा पूजा गर्ने परम्परा यस पर्वमा रहिआएको छ।

सामान्यतः अस्ताउँदो सूर्यलाई बिदाइ र उदाउँदो सूर्यलाई स्वागत गर्ने पर्वका रूपमा मात्र नभई जीवनका हरेक अवस्था र प्रकृतिको चक्रप्रति सम्मान प्रकट गर्ने अवसरका रूपमा पनि छठलाई लिइन्छ। यसले मानिसलाई प्रकृतिप्रति कृतज्ञ हुन र जीवनमा अनुशासन तथा आत्मसंयम कायम राख्न प्रेरित गर्ने धार्मिक तथा सांस्कृतिक विश्वास छ।

रौतहटको सदरमुकाम गौरसहित गंगापिपरा, शिवनगर, गरुडा, कटहरिया र चन्द्रनिगाहपुरलगायतका क्षेत्रमा छठको विशेष चहलपहल छ। जिल्लाका विभिन्न छठघाटमा श्रद्धालुहरूको उल्लेख्य सहभागिताका लागि आवश्यक व्यवस्थापन गरिएको छ। साँझ जलाशयमा उभिएर व्रतालुहरूले सूर्यदेवलाई अर्घ अर्पण गर्ने दृश्यले छठको धार्मिक तथा सांस्कृतिक महिमालाई थप उजागर गर्नेछ।

राम–सीतादेखि कर्ण र द्रौपदीसम्म जोडिएको धार्मिक विश्वास

धार्मिक परम्पराअनुसार छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ। पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई बिहानको अर्घ अर्पण गरेर पर्व सम्पन्न गरिन्छ।

पौराणिक मान्यताअनुसार त्रेतायुगमा भगवान् श्रीराम र माता सीता लङ्का विजयपछि अयोध्या फर्किएर राज्याभिषेकका अवसरमा कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको उपासना गरेका थिए। भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेको धार्मिक विश्वास छ। यही परम्पराबाट छठ पूजाको प्रचलन विस्तार भएको जनविश्वास रहिआएको छ।

त्यस्तै, महाभारतकालमा सूर्यपुत्र कर्णले सूर्यदेवको नियमित आराधना गर्ने गरेको तथा द्रौपदीले पाण्डवहरूको सुख, समृद्धि र संकट निवारणका लागि सूर्य उपासना गरेको प्रसङ्ग पनि छठको धार्मिक महत्त्वसँग जोडिएको छ। राजा प्रियव्रतले सन्तान प्राप्तिको कामनासहित षष्ठी देवीको आराधना गरेको पौराणिक कथासमेत यस पर्वसँग सम्बन्धित छ।

एउटै घाटमा सामाजिक सद्भावको सन्देश

छठ महापर्वको महत्त्व धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। जात, वर्ग, भाषा र सामाजिक विभेदभन्दा माथि उठेर सबैलाई एउटै घाटमा सहभागी गराउने यसको विशिष्टता छ। धनी–गरिब, सानो–ठूलो सबैले समान श्रद्धाका साथ सूर्यदेवलाई अर्घ अर्पण गर्ने भएकाले यस पर्वलाई सामाजिक समानता, समरसता र एकताको प्रतीकका रूपमा समेत लिइन्छ।

बाँसका सामग्री, माटाका भाँडा, स्थानीय फलफूल तथा घरमै तयार गरिने परिकारको प्रयोगले छठलाई स्थानीय उत्पादन र परम्परागत सीपसँग पनि जोडेको छ। छठका लोकगीतमा अभिव्यक्त मातृत्व, सन्तानप्रतिको माया, पारिवारिक सुख र प्रकृतिप्रतिको सम्मानले यस पर्वको सांस्कृतिक महत्त्वलाई थप समृद्ध बनाएको छ।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि छठव्रतीहरू भोलि बिहान उदाउने सूर्यको प्रतीक्षामा रहनेछन्। रातभर दीपको उज्यालो, लोकगीतको मधुर धुन र भक्तिभावले छठघाट गुञ्जायमान हुनेछन्। भोलि बिहान सूर्यका प्रथम किरणसँगै उदाउँदो सूर्यलाई दोस्रो अर्घ अर्पण गरेपछि चारदिने छठ महापर्व विधिवत् सम्पन्न हुनेछ।

अस्ताउँदो सूर्यलाई नमन र उदाउँदो सूर्यलाई वन्दन गर्ने छठले आशा, धैर्य, समर्पण, प्रकृतिप्रेम र नयाँ सुरुवातको सन्देश दिन्छ। त्यसैले छठ मधेसको धार्मिक पर्व मात्र नभई यहाँको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सांस्कृतिक सम्पदा पनि हो।

प्रतिक्रिया