काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन नियुक्तिपत्र बुझेका छन्। गृह मन्त्रालयका अनुसार उनले मन्त्रिपरिषद्को निर्णयअनुसार कात्तिक १८ गते नै नियुक्तिपत्र लिएका हुन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले नियुक्तिपत्र बुझेको पुष्टि गरेका छन्। मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिन सरकारले कार्कीलाई विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनको कार्यकक्ष सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ।
तर नियुक्तिपत्र बुझिसके पनि कार्की कार्यालयमा हाजिर भएका छैनन्। नियुक्तिपछि तिहार र छठलगायतका पर्वका कारण लामो सार्वजनिक बिदा परेकाले उनी कार्यालय उपस्थित हुन नसकेको गृह मन्त्रालयले जनाएको छ।
यसैबीच, पूर्वआईजीपी कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। एकातिर सरकारबाट प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका कार्की अर्कोतिर आफूलाई महानिरीक्षकबाट हटाइएको निर्णयविरुद्ध न्यायिक लडाइँमा उत्रिएका छन्।