वित्तीय प्रणालीमा तरलता चुलियो, ब्याज सम्हाल्न राष्ट्र बैंक सक्रिय

काठमाडौं — मुलुकको वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणको प्रयोग तीव्र पार्न थालेको छ। घट्दो कर्जा प्रवाह र स्थिर आर्थिक गतिविधिका कारण बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप केन्द्रीय बैंकमै थुप्रिन थालेपछि केन्द्रीय बैंक ब्याजदर करिडोरभित्र ब्याज कायम गर्न सक्रिय देखिएको हो।

पछिल्लो सातामात्रै केन्द्रीय बैंकले दुईपटक गरी कुल ७५ अर्ब रुपैयाँको निक्षेप संकलनको आह्वान गरेको छ। आइतबार ३० अर्ब र बुधबार पुनः ३५ अर्बको निक्षेप संकलनको सूचना जारी गरिएको हो। तर बैंकहरूले माग अनुसारको निक्षेप नदिँदा केन्द्रीय बैंकलाई ब्याजदर ३ प्रतिशतसम्म पु¥याएर पनि रकम खिच्नुपरेको छ।

हाल वित्तीय प्रणालीमा ३ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी रकम केन्द्रीय बैंकमा स्थायी निक्षेप सुविधा तथा अन्य उपकरणमार्फत संकलित भइसकेको छ। मंगलबार मात्र प्रणालीमा करिब ७९ अर्ब रुपैयाँ बराबरको अतिरिक्त तरलता रहेको देखिएको थियो।

पूर्व बैंकिङ विज्ञ शोभनदेव पन्तका अनुसार रेमिट्यान्स आप्रवाह वृद्धि र कर्जा मागमा कमी आउँदा यस्तो तरलता उत्पन्न भएको हो। उनका अनुसार बैंकहरू नयाँ कर्जा प्रवाह गर्न सकिरहेका छैनन्, बरु पुराना कर्जा असुलीमा मात्रै केन्द्रित छन्।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा (३ प्रतिशत) भन्दा तल जाँदा त्यो सम्हाल्न स्थायी निक्षेप र निक्षेप संकलन उपकरण प्रयोग गरिनुपरेको हो। आइतबार संकलन गरिएको ३० अर्ब निक्षेपमा ब्याजदर २.९९९१ प्रतिशत कायम भएको थियो।

राष्ट्र बैंकले ब्याजदरको करिडोर ३ प्रतिशत (तल्लो सीमा) र ६.५ प्रतिशत (माथिल्लो सीमा) को दायरामा राखेको छ। अत्यधिक तरलता हुँदा ब्याजदर घट्न नदिने र न्यून तरलता हुँदा बढ्न नदिने गरी आवश्यक मौद्रिक उपकरण प्रयोग गर्दै आएको राष्ट्र बैंक अहिले उक्त व्यवस्थालाई सन्तुलनमा राख्न कठिनाइमा छ।

प्रतिक्रिया