भारत र पाकिस्तानबीच जारी बढ्दो सैनिक तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) अस्थायी रूपमा स्थगित गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शुक्रबार आकस्मिक अनलाइन बैठक गरी प्रतियोगिता रोक्ने निर्णय गरेको हो।
बीसीसीआईले हाललाई कुनै नयाँ मिति घोषणा नगरेको भए पनि लिग चरणका १२ खेल बाँकी रहेका छन्। यसअघि फाइनल खेल मे २५ मा हुने तय गरिएको थियो।
८ मे राति करिब ८:३० बजे पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल तथा ड्रोन आक्रमण गरेपछि हिमाचल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल अवरुद्ध भयो।
पञ्जाबले पहिलो ब्याटिङ गर्दै १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाइसकेको अवस्थामा मैदानको फ्लडलाइट अचानक निभाइयो र दर्शकहरूलाई सुरक्षा कारणवश मैदानबाट बाहिर जान अनुरोध गरियो। यसपछि खेल पूर्ण रूपमा रद्द गरिएको थियो।
तनावको अवस्थाका कारण भारतका विभिन्न शहरहरूमा ब्ल्याकआउट गरिएको थियो। स्थगित गरिएको यो खेल लिग चरणको ५८औं खेल थियो।