सहकारी अपचलन प्रकरण: सांसद माया राई १० लाख धरौटीमा रिहा

काठमाडौं — स्वर्णलक्ष्मी सहकारीमा रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार बयान र थुनछेक बहसपछि उक्त आदेश दिएको हो।

सांसद राई कुनै समय कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको सहसचिव थिइन्। प्रहरी अनुसन्धान अनुसार, उनी सञ्चालक समितिमा रहेका बेला करिब साढे २ करोड रुपैयाँ अपचलन भएको देखिएको छ। विशेषगरी आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म उनले सहसचिव र सदस्यको हैसियतमा कार्यरत रहँदा विनाधितो ऋण प्रवाह गरिएको, सूचीकृत नभएका संस्थामा लगानी गरिएको, र सहकारीको कुल पूँजीको १० प्रतिशतभन्दा बढी लगानी गरिएको तथ्यहरू खुलेका छन्।

यसअघि २१ पुसमा काठमाडौं जिल्ला अदालतमा ३९ जनाविरुद्ध ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो। त्यतिबेला सांसद राईलाई मुद्दाबाट उन्मुक्ति दिइए पनि आलोचना भएपछि प्रहरीले १३ वैशाखमा कपनबाट उनलाई पुनः पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानका क्रममा राईले सहकारीको विवादास्पद निर्णयसम्बन्धी माइन्युटमा हस्ताक्षर गरेको स्वीकार गरेकी छिन्। उनले सो हस्ताक्षर हाँडीगाउँमा डेरा गरी बस्ने भुपेन्द्र राईको आग्रहमा गरेको बताएकी छिन्।

यद्यपि, संगठित अपराधको कसुरमा ६० दिनसम्म हिरासतमा राख्न सकिने कानुनी व्यवस्था भए पनि सांसद राईको हकमा १७ दिनमै मुद्दा दर्ता गरिएको हो।

प्रतिक्रिया