अस्पतालमाथि समेत आक्रमण, गाजामा मानवीय संकट गहिरिँदै

काठमाडौं — इजरायली सेनाले गाजाको दक्षिणी क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा २८ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। पछिल्लो २४ घण्टामा गाजाका दुई अस्पतालमा गरिएको आक्रमणपछि मानवीय संकट थप चुलिएको छ। इजरायली सेनाले खान युनिसस्थित युरोपियन अस्पतालमासमेत हमला गरेको जनाइएको छ।

स्थानीय स्रोतका अनुसार इजरायली आक्रमण हालसम्म कुनै पनि अस्पताललाई नछाड्नेगरी विस्तार हुँदै गएको छ। पछिल्ला १० सातादेखि प्रभावित क्षेत्रमा न त खानेपानीको व्यवस्था छ, न औषधि, न त टेन्टजस्ता आवश्यक राहत सामग्री उपलब्ध छन्।

संयुक्त राष्ट्रसंघीय राहत प्रमुख टम फ्लेट्चरले न्यूयोर्कमा गाजाको अवस्था प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्। उनले इजरायलले राहत सामग्रीको वितरणमा व्यवधान पुर्याइरहेको र नयाँ शर्तहरु थोपरेको आरोप लगाए।

इजरायलले हालै राष्ट्रसंघ लगायतका संस्थाहरूलाई बेवास्ता गर्दै राहत वितरणका लागि छुट्टै निकाय गठनको प्रस्ताव अघि सारेको छ, जसप्रति फ्लेट्चरले कडा आपत्ति जनाएका छन्।

यसैबीच, मध्यपूर्व भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–गाजा युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न पहल गर्ने बताएका छन्। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्ध रोक्ने कुनै परिस्थिति अझै नदेखिएको धारणा सार्वजनिक गरेका छन्।

प्रतिक्रिया