काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। बुधबारदेखि सुरु हुने भेलालाई स्थानीय निर्वाचनको तयारी र चुनावी रणनीति निर्माणमा केन्द्रित गर्ने निर्णय पार्टीको स्थायी समिति बैठकले गरेको हो।
भेलामा गाउँपालिका तहदेखि केन्द्रीय कमिटीसम्मका तीन हजार ४१४ जना प्रतिनिधि सहभागी हुनेछन्। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा स्थानीय निर्वाचनको तयारी, चुनाव जित्ने रणनीति र पार्टीले अघि बढाउनुपर्ने योजनाबारे छलफल हुनेछ।
‘बैठकले राष्ट्रिय भेलालाई स्थानीय तह निर्वाचनकेन्द्रित बनाउने निर्णय गरेको छ,’ स्थायी समिति बैठकपछि भट्टले भने, ‘निर्वाचनको तयारीलाई केन्द्रमा राखेर अध्यक्ष र वरिष्ठ नेताको सम्बोधन तथा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन्।’
भेला तयारी समितिका संयोजक भानुभक्त ढकालले बैठकमा व्यवस्थापकीय तयारी र दुईदिने कार्यक्रम तालिकाबारे जानकारी गराएका थिए। भेलामा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
भेलाको उद्घाटनपछि बन्दसत्र सुरु हुनेछ। बिहीबारसम्म सञ्चालन हुने भेलामा सहभागी प्रतिनिधिहरूलाई स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी गराउन आवश्यक रणनीति र गर्नुपर्ने कामबारे लिखित सुझाव दिन आग्रह गरिएको छ।
प्रतिनिधिहरूबाट प्राप्त सुझावका आधारमा निर्वाचनकेन्द्रित कार्ययोजना तयार गरी सार्वजनिक गर्ने एमालेको तयारी छ। राष्ट्रिय भेला सम्पन्न भएपछि पार्टीले केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ।
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई चुनावसँगै सरकारविरोधी आन्दोलनको तयारीमा पनि रहन निर्देशन दिएका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचन र आन्दोलनलाई दुई प्रमुख कार्यभारका रूपमा तय गरेको उल्लेख गर्दै ओलीले आवश्यकताअनुसार आन्दोलनमा उत्रनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।
मंगलबार पार्टीसम्बद्ध अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै ओलीले कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन आग्रह गरे।
‘केन्द्रीय कमिटीको बैठकले चुनाव र आन्दोलनको दुई कार्यभार तय गरेको छ। आवश्यकताअनुसार आन्दोलन गर्नुपर्ने हुन्छ। आन्दोलनको तयारीको मानसिकताका साथ सबै साथीहरू हरदम तयारीमा बस्नुस्,’ उनले भने।
आन्दोलन लामो समयको तयारीपछि मात्रै सुरु हुन्छ भन्ने नभएको उल्लेख गर्दै उनले असह्य अवस्था आए स्वतः आन्दोलन सुरु हुन सक्ने बताए। त्यसैले निर्वाचन र आन्दोलन दुवैका लागि एकसाथ तयारी गर्नुपर्ने उनको भनाइ थियो।
ओलीले अहिले पार्टी कमजोर देखिए पनि सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढे एमाले पुरानै अवस्थामा फर्किन सक्ने दाबी गरे। उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी पछिल्लो मुद्दामा जनविश्वास गुमाउने गरी पूर्वाग्रह राखेर न्यायसम्पादन गरेको आरोपसमेत लगाए।