काठमाडौँ । ‘माण्डवी’लाई केवल कथा भनेर हेर्नु यसको गहिराइलाई सीमित गर्नु हुनेछ। यो समयको एउटा संवेदनशील दस्तावेज हो, जहाँ मानिस आफ्नै जीवनको गति, सम्बन्ध र अस्तित्वसँग प्रश्न गरिरहेको हुन्छ।
‘माण्डवी’को संसारमा प्रवेश गर्दा दर्शकले एउटा पात्रको कथा मात्र देख्ने छैनन्, उनीहरूले आफ्नै समय, आफ्नै सम्बन्ध र आफ्नै अन्तरमनका केही परिचित छायाहरू भेट्न सक्नेछन्। मञ्चमा देखिने मौनता, प्रकाश र शरीरको गति आफैँमा संवाद बन्नेछन्। शब्दले भन्न नसकेका भावहरू अभिनय, दृश्य र ध्वनिमार्फत व्यक्त हुनेछन्।
नाटकको सौन्दर्य यसको सरलताभित्र लुकेको जटिलतामा छ। जीवनका सामान्य देखिने क्षणहरूभित्र असाधारण प्रश्नहरू जन्मन्छन्। ‘माण्डवी’ त्यही प्रश्नहरूको रंगमञ्चीय प्रतिध्वनि हो, जहाँ समय केवल बित्दैन, मानिसभित्र बाँचिरहन्छ।
नाटक ‘माण्डवी’मा कलाकारहरूले प्रस्तुत गरेको अभिनयले दर्शकलाई कथाको भावभूमिसँग जोड्न सफल भएको छ। माण्डवीको भूमिकामा रहेकी निलीमा पाण्डेको अभिनय सशक्त र प्रभावशाली देखिन्छ। सकम्बरीको भूमिकामा संस्कृति वन विशेष रूपमा प्रस्तुत भएकी छन्। सुम्निमाको भूमिकामा रहेकी तिर्सना राईले आफ्नो अभिनयमार्फत दर्शकलाई सुम्निमाको कालखण्डीय यात्रामा डोर्याउँछिन्। त्यस्तै, पिँजडाको भूमिकामा भीष्म राज जोशीको ऊर्जाशील अभिनय पनि उल्लेखनीय छ।
नाटकमा रूषा श्रेष्ठ, एवन राज उप्रेती, सन्तोष विष्ट र किरण चापागाईंको अभिनयले पनि प्रस्तुतिलाई जीवन्त बनाएको छ। कलाकारहरूको सामूहिक अभिनय, भावाभिव्यक्ति र मञ्चीय उपस्थितिले ‘माण्डवी’लाई थप प्रभावकारी बनाएको छ।
‘माण्डवी’ असोज १ गतेदेखि १४ गतेसम्म मंगलबारबाहेक नियमित मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे अतिरिक्त शोसमेत राखिएको छ। टिकट अनलाइन तथा नाटकघरबाटै प्राप्त गर्न सकिनेछ।