☰

तीन महिनामै राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ४७ अर्बले वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म केन्द्रीय बैंकको कुल सम्पत्ति ४१ खर्ब २२ अर्ब ९४ करोड ३५ लाख रुपैयाँभन्दा बढी पुगेको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको मासिक वित्तीय विवरणअनुसार गत असार मसान्तको तुलनामा बैंकको कुल सम्पत्ति २ खर्ब ४७ अर्ब ९५ करोड रुपैयाँले वृद्धि भएको छ। गत असार मसान्तमा राष्ट्र बैंकको कुल सम्पत्ति ३८ खर्ब ७४ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

विवरणअनुसार राष्ट्र बैंकको कुल सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा विदेशी मुद्रा सम्पत्तिको रहेको छ। गत असार मसान्तमा ३७ खर्ब ३० अर्ब २ करोड ६५ लाख रुपैयाँ रहेको विदेशी मुद्रा सम्पत्ति असोज मसान्तसम्म बढेर ३९ खर्ब ७८ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले विदेशी सुरक्षण पत्रमा गरेको लगानी पनि उल्लेख्य रहेको छ। असोज मसान्तसम्म विदेशी सुरक्षण पत्रमा बैंकको लगानी २८ खर्ब ५८ अर्ब २ करोड रुपैयाँ नाघेको छ। त्यस्तै, विदेशी बैंकहरूमा रहेको मुद्दती निक्षेप ६ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

राष्ट्र बैंकको विवरणअनुसार असोज मसान्तसम्म बजारमा चलनचल्तीमा रहेको नोटको परिमाण ८ खर्ब ९७ अर्ब ३८ करोड ३९ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो रकम करिब ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो।

यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको निक्षेप ६ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने सरकारको निक्षेप २ खर्ब ७३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म राष्ट्र बैंकको कुल स्थानीय मुद्रा दायित्व २९ खर्ब ८५ अर्ब ४ करोड ९४ लाख रुपैयाँ पुगेको छ। सो अवधिमा स्थानीय मुद्रा सम्पत्ति १ खर्ब ४४ अर्ब ७८ करोड ८ लाख रुपैयाँ रहेको छ। यस्तै, विदेशी मुद्रा दायित्व ४९ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ रहेको राष्ट्र बैंकको वित्तीय विवरणमा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय