काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.५९ प्रतिशतले बढेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूले चालु आवको तीन महिनामा कुल १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कुल खुद नाफा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ थियो। यसरी एक वर्षको अवधिमा बैंकहरूको खुद नाफा करिब ५ अर्ब ९९ करोड ५६ लाख रुपैयाँले बढेको हो।
रसुवा र भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीलगायत प्राकृतिक विपत्तिका कारण कर्जा असुली प्रभावित भइरहेका बेला पनि बैंकहरूको नाफामा उल्लेख्य वृद्धि देखिएको छ। यद्यपि, नाफा बढे पनि खराब कर्जा र वितरणयोग्य नाफाको अवस्थाले बैंकिङ क्षेत्रमा चुनौती कायमै रहेको देखाएको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ। बैंकले पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थान कायम गरेको छ। एभरेस्ट बैंकले १ अर्ब २५ करोड २७ लाख १९ हजार, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख ५७ हजार, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख २१ हजार र एनएमबी बैंकले १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।
यसैगरी, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख ५ हजार, सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख ६८ हजार, सिद्धार्थ बैंकले ८५ करोड १५ लाख ६५ हजार, नेपाल बैंकले ८३ करोड २१ लाख ८७ हजार, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख ४४ हजार र हिमालयन बैंकले ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।
लक्ष्मी सन्राइज बैंकले ६५ करोड ३३ लाख ८५ हजार, प्रभु बैंकले ६० करोड ३७ लाख ३१ हजार, नेपाल एसबीआई बैंकले ५५ करोड २२ लाख १५ हजार र माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। एनआईसी एसिया बैंकले १२ करोड ७४ लाख ४२ हजार, कृषि विकास बैंकले १० करोड ९२ लाख ३५ हजार र सिटिजन्स बैंकले १० करोड ७७ लाख ३ हजार रुपैयाँ नाफा कमाएका छन्।
नाफा बढे पनि वितरणयोग्य नाफा ९ अर्ब ऋणात्मक
बैंकहरूको खुद नाफा १९ अर्ब रुपैयाँभन्दा माथि पुगे पनि लाभांश वितरण गर्न सकिने नाफाको अवस्था भने कमजोर देखिएको छ। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कुल वितरणयोग्य नाफा ९ अर्ब ७ करोड ८० लाख रुपैयाँले ऋणात्मक रहेको छ।
बैंकहरूले नियामकीय व्यवस्थाअनुसार विभिन्न शीर्षकमा रकम छुट्याउनुपर्ने, खराब कर्जाबापतको सम्भावित नोक्सानी व्यवस्थापन गर्नुपर्ने तथा कर्जा जोखिमका लागि प्रोभिजन राख्नुपर्ने भएकाले वितरणयोग्य नाफा प्रभावित भएको बैंकरहरूको भनाइ छ।
समीक्षा अवधिमा १५ बैंकको वितरणयोग्य नाफा बचतमा रहे पनि पाँच बैंकको अवस्था उच्च अंकमा ऋणात्मक देखिएको छ। एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा १५ अर्ब ३९ करोड ६९ लाख रुपैयाँले ऋणात्मक छ। त्यस्तै, हिमालयन बैंकको ९ अर्ब ७९ करोड ८५ लाख, प्रभु बैंकको ६ अर्ब ७८ करोड ७७ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५ अर्ब १६ करोड १६ लाख र सिटिजन्स बैंकको ४४ करोड ८४ लाख १५ हजार रुपैयाँले ऋणात्मक रहेको छ।
अन्य १५ बैंकको भने कुल २८ अर्ब ५१ करोड ५० लाख ९४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ। पाँच बैंकको ऋणात्मक र अन्य बैंकको सकारात्मक नाफा समायोजन गर्दा समग्र बैंकिङ क्षेत्रको वितरणयोग्य नाफा करिब ९ अर्ब रुपैयाँले ऋणात्मक देखिएको हो।
निष्क्रिय कर्जा अनुपात बढेर ५.६४ प्रतिशत
बैंकहरूको अर्को चुनौती निष्क्रिय कर्जा अनुपातमा देखिएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म २० वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा अनुपात ५.६४ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ४.८५ प्रतिशत थियो।
बैंकहरूको निष्क्रिय कर्जा एक वर्षमा ०.७९ प्रतिशत बिन्दुले बढेको हो। बैंकिङ क्षेत्रमा कर्जा असुलीको दबाब बढ्दै गएको यसले संकेत गर्छ।
समीक्षा अवधिमा प्रभु बैंकको निष्क्रिय कर्जा अनुपात सबैभन्दा बढी १४.८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तमा बैंकको यस्तो अनुपात ५.७८ प्रतिशत मात्रै थियो। त्यस्तै, एनआईसी एसिया बैंकको ९.८१ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.८७ प्रतिशत निष्क्रिय कर्जा रहेको छ। समग्रमा आठ बैंकको निष्क्रिय कर्जा अनुपात पाँच प्रतिशतभन्दा माथि पुगेको छ।
आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंकहरूको कर्जा असुली यसअघि नै प्रभावित हुँदै आएको थियो। पछिल्लो समय बाढीपहिरोलगायत प्राकृतिक विपत्तिले ऋणीको आर्थिक गतिविधि र भुक्तानी क्षमतामा थप असर पारेपछि निष्क्रिय कर्जा बढेको देखिन्छ।
यसरी पहिलो त्रैमासमा बैंकहरूको खुद नाफामा उल्लेख्य सुधार देखिए पनि वितरणयोग्य नाफा ऋणात्मक रहनु र निष्क्रिय कर्जा अनुपात बढ्नुले बैंकिङ क्षेत्रको वित्तीय स्वास्थ्यमा चुनौती कायमै रहेको देखाएको छ।