☰

सिटिजन लाइफको नाफा २३.९० प्रतिशतले घट्यो, बिमाशुल्क १५ प्रतिशत बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म खुद नाफा २३.९० प्रतिशतले घटेको हो।

कम्पनीले समीक्षा अवधिमा १० करोड ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफामा गिरावट आए पनि कम्पनीको कुल बिमाशुल्क आर्जन र जीवन बिमा कोषको आकारमा भने उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले २ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब २३ करोड २८ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको कुल बिमाशुल्क आर्जन १५.३३ प्रतिशतले बढेको छ।

त्यस्तै, असोज मसान्तसम्म कम्पनीको जीवन बिमा कोषमा २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा जीवन बिमा कोषको आकार २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा जीवन बिमा कोष ३५ प्रतिशतले विस्तार भएको हो।

कम्पनीको महाविपत्ति कोषमा २७ करोड ९४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कोषमा २६ करोड ९४ लाख रुपैयाँ थियो।

यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ ५८ करोड ७० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो रकम ४९ करोड ८३ लाख रुपैयाँ थियो। अन्य इक्विटी भने ३६ करोड २६ लाख रुपैयाँबाट घटेर ३५ करोड ८६ लाख रुपैयाँमा झरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको बिमाशुल्क आर्जन र जीवन बिमा कोष विस्तार भए पनि समीक्षा अवधिमा खुद नाफा भने घटेको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय