काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्काले समूहअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य, समन्वय र व्यवसाय विस्तारको नेतृत्व गर्नेछन्।
खड्काको नियुक्तिसँगै आईएमई ग्रुपले आफ्ना विभिन्न व्यवसायमा रहेको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण सञ्जाललाई एकीकृत गर्दै व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राखेको छ। समूहका व्यवसायबीच सहकार्य विस्तार गरी दीर्घकालीन ब्रान्ड मूल्य अभिवृद्धि गर्नु उनको प्रमुख जिम्मेवारी हुनेछ।
नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभव सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने विषयलाई पनि खड्काले प्राथमिकतामा राख्नेछन्।
१५ वर्षभन्दा बढी व्यावसायिक अनुभव भएका खड्का यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। उनले विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा रहेर काम गरिसकेका छन्।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्कालाई स्वागत गर्दै उनको अनुभव र नेतृत्वबाट समूहका कम्पनीहरू थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्। उनले डिजिटल रूपान्तरणलाई विस्तार र सुदृढ गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन्।
नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले समूहका प्राथमिकता र सरोकारवालाहरूसँगको सहकार्यमा परिणाममुखी काम गर्ने बताएका छन्।
आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। विविध क्षेत्रमा फैलिएको व्यावसायिक सञ्जाललाई थप प्रभावकारी बनाउँदै समूहले व्यवसाय विस्तार र डिजिटल रूपान्तरणलाई अघि बढाउँदै आएको छ।