काठमाडौं । नेपाल चिया उत्पादक सङ्घले बन्द रहेका चिया उद्योगहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। भारततर्फ चिया निर्यातमा देखिएको अवरोधका कारण झापा र इलामका उद्योगहरू केही दिनदेखि बन्द रहेका थिए।
सङ्घले सोमबार जारी गरेको विज्ञप्तिमा सरकारले चिया क्षेत्रका समस्या समाधानका लागि सकारात्मक पहल थालेको तथा विशेष कार्यदल गठन गरेको भन्दै आन्दोलनका कार्यक्रम स्थगन गरी उद्योग सञ्चालनमा फर्किने निर्णय गरिएको जनाएको छ।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएपछि उद्योगीहरूले उद्योग बन्द गरेका थिए। निर्यात प्रभावित हुँदा चिया किसान, उद्योगी तथा श्रमिकहरू प्रत्यक्ष रूपमा प्रभावित भएका थिए।
चिया क्षेत्रका समस्या समाधान गर्न सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सहसचिवको संयोजकत्वमा विशेष कार्यदल गठन गरेको छ। उक्त कार्यदललाई चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या अध्ययन गर्ने, किसानले भोग्दै आएका कठिनाइहरूको पहिचान गर्ने तथा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि दीर्घकालीन रणनीति तयार गर्ने जिम्मेवारी दिइएको छ।
नेपाल चिया उत्पादक सङ्घले सरकारको पहललाई सकारात्मक रूपमा लिएको जनाएको छ। सङ्घले जारी गरेको विज्ञप्तिमा सरकारको प्रतिबद्धता, किसान तथा मजदुरको हित र चिया क्षेत्रको दीर्घकालीन स्थायित्वलाई ध्यानमा राख्दै उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ।
उद्योगहरू पुनः सञ्चालनमा आएसँगै चिया प्रशोधन, उत्पादन तथा निर्यात प्रक्रिया क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ। यस निर्णयले चिया किसान, श्रमिक र व्यवसायीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।