दुई महिनामै ११ अर्बभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता

काठमाडौँ — चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा नेपालले ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँभन्दा बढी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउने प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागको भदौ महिनाको मासिक प्रतिवेदनअनुसार यस अवधिमा ३२८ वटा उद्योगमार्फत उक्त लगानीको प्रतिबद्धता आएको हो।

विभागका अनुसार प्रस्तावित उद्योगहरू सञ्चालनमा आएपछि ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्। गत आर्थिक वर्षको तुलनामा यस वर्ष विदेशी लगानीकर्ताको आकर्षण स्वचालित मार्गबाट लगानी स्वीकृत गर्ने प्रणालीतर्फ बढी देखिएको छ।

कुल ३२८ उद्योगमध्ये ३२२ वटा स्वचालित मार्गबाट स्वीकृत भएका छन्। यी उद्योगमा ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ विदेशी लगानी गर्ने प्रतिबद्धता आएको छ। बाँकी ६ वटा उद्योग परम्परागत स्वीकृति प्रक्रियामार्फत स्वीकृत भएका छन्, जसमा १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ।

विदेशी लगानीको रकमका आधारमा पर्यटन क्षेत्र लगानीकर्ताको मुख्य आकर्षण बनेको छ। दुई महिनामा प्रतिबद्ध भएको कुल विदेशी लगानीमध्ये ३४ प्रतिशत अर्थात् ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ पर्यटन क्षेत्रका ७० वटा उद्योगमा लगानी हुने भएको छ।

सेवा क्षेत्र दोस्रो स्थानमा रहेको छ। यस क्षेत्रका २६ वटा उद्योगका लागि ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ अर्थात् कुल प्रतिबद्ध विदेशी लगानीको ३० प्रतिशत लगानी प्रस्ताव गरिएको छ। ऊर्जा क्षेत्रमा एउटा परियोजनाका लागि २ अर्ब रुपैयाँ अर्थात् १८ प्रतिशत, उत्पादनमूलक क्षेत्रका १८ वटा उद्योगमा १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ अर्थात् ११ प्रतिशत लगानी प्रतिबद्धता आएको छ। कृषिमूलक क्षेत्रको एउटा उद्योगका लागि २ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ।

उद्योगको संख्याका आधारमा भने सूचना तथा सञ्चार प्रविधि क्षेत्र अगाडि रहेको छ। कुल स्वीकृत उद्योगमध्ये २१२ वटा अर्थात् ६५ प्रतिशत उद्योग सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेका छन्। यी उद्योगमा ८१ करोड ६९ लाख १७ हजार रुपैयाँ अर्थात् कुल प्रतिबद्धताको ७ प्रतिशत लगानी प्रस्ताव गरिएको छ।

खनिज तथा पूर्वाधार क्षेत्रमा भने साउन र भदौमा कुनै पनि विदेशी लगानी प्रतिबद्धता आएको छैन।

भदौ महिनामा मात्रै १३६ वटा उद्योगमा ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ विदेशी लगानी गर्ने प्रतिबद्धता आएको छ। ती उद्योग सञ्चालनमा आएपछि ९८३ जनालाई प्रत्यक्ष रोजगारी दिने योजना छ। भदौमा स्वीकृत १३६ उद्योगमध्ये १३५ वटा स्वचालित मार्गबाट र एउटा उद्योग परम्परागत स्वीकृति प्रक्रियाबाट दर्ता भएको विभागले जनाएको छ।

यसैगरी, साउन र भदौमा सेयर खरिद सम्झौता तथा सेयर सदस्यता सम्झौतामार्फत थप १२ वटा परियोजनाका लागि ८२ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। भदौमा मात्रै ९ वटा सम्झौतामार्फत ५६ करोड ९२ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ।

त्यस्तै, प्रविधि हस्तान्तरण सम्झौताअन्तर्गत भदौसम्म ८ वटा सम्झौता स्वीकृत भएका छन्।

प्रतिक्रिया