बलेवा सेवा समाज जापानको पाँचौँ नियमित बैठक सम्पन्न

बलेवा सेवा समाज जापानको पाँचौँ नियमित बैठक सेप्टेम्बर २०, २०२६ आइतबार जापानको Kita-Senjuस्थित Asia Restaurant Sakura मा सम्पन्न भएको छ। समाजका पदाधिकारी, संरक्षक तथा सल्लाहकारहरूको उपस्थितिमा बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

बैठकको अध्यक्षता समाजका अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’ले गरेका थिए भने सचिव राजेश रिजाल ‘इन्द्र’ले सञ्चालन गरेका थिए। कार्यक्रममा संरक्षकहरू महेन्द्र पिसी, सेवक पिसी, राजु केसी, सल्लाहकार कृष्ण पौडेललगायत समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकमा सहभागीहरूले संस्थाको आगामी कार्यदिशा, भावी कार्यक्रम तथा संस्थागत सुदृढीकरणका विषयमा आ–आफ्ना विचार, सुझाव र अनुभव प्रस्तुत गरेका थिए। समाजका आगामी गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

बैठकमा समाजले हालै आयोजना गरेको श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक प्रवचन तथा भजन कार्यक्रमको समीक्षा गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी, कलाकार, भजन मण्डली, पदाधिकारी, संरक्षक, सल्लाहकार तथा शुभेच्छुकहरूप्रति समाजले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

उक्त धार्मिक कार्यक्रमबाट संकलित रकम उद्देश्यअनुरूप मानव सेवा तथा बाढीपीडितहरूको सहयोगमा प्रयोग गरिसकिएको जानकारी बैठकमा गराइएको थियो। समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।

त्यसैगरी, आगामी अक्टोबर १८ तारिख आइतबार चिनो भान्छा घर, कामतामा आयोजना हुने दसैँ–तिहार शुभकामना तथा सांगीतिक साँझलाई सफल बनाउने विषयमा पनि छलफल गरिएको छ। नेपालबाट जापान भ्रमणमा आएकी कलाकार सीता परियारलगायत कलाकारहरूको सहभागितामा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।

कार्यक्रमका लागि आवश्यक तयारी, व्यवस्थापन तथा प्रचारप्रसारका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ। साथै, समाजको आगामी कार्ययोजनासँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयसमेत गरिएको जनाइएको छ। ती निर्णयहरूको विस्तृत विवरण कार्यसमिति समूहबाट सार्वजनिक गरिने समाजले जनाएको छ।

बैठकको अन्त्यमा अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’ले बलेवा सेवा समाज जापान सामाजिक एकता, आपसी भाइचारा र मानव सेवाको भावनालाई आत्मसात् गर्दै अघि बढिरहेको बताए। उनले दुःख–पीडामा परेका नेपालीहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न समाज सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया