बाढी प्रभावितका लागि राहत कोषमा करिब १५ अर्ब जम्मा

काठमाडौँ — रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ। बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी रहेको कार्यालयले जनाएको छ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ। बाँकी रकम आवश्यकताका आधारमा राहत तथा पुनःस्थापनाका लागि परिचालन गरिनेछ।

कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मात्रै ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःनिर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको सरकारले जनाएको छ।

प्रतिक्रिया