काठमाडौं–कोभिड–१९ले अर्थतन्त्रका सबै क्षेत्रमा असर पुगिरहेको अवस्थामा होस्टल व्यवसायमा पनि ठूलो क्षती पुगेको भन्दै होस्टल व्यवसायीले घर भाडा छुटको माग गरेका छन् । मुलुक लकडाउनमा गएपछि कलेजहरु बन्द हुँदा विद्यार्थीहरु घर फर्किएपछि होस्टल बन्द छन् ।
सबै होस्टल बन्द हुँदा भाडा तिर्न सक्ने अवस्था नभएकाले घरभाडा छुटको व्यवस्था मिलाउन नेपाल होस्टल एसोशिएसनले माग गरेको हो । सबै होस्टल रित्ता रहेकाले भाडा तिर्न सक्ने अवस्थामा नरहेको एसोसिएसनका महासचिव रुपाली पौडेलले बताइन् । ‘होस्टलको भाडा छुट दिने नीतिगत निर्णय गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ पौडेलले भनिन्, ‘अर्बौं लगानीको व्यवसाय जोखिममा परेको छ ।’
सरकारले डेरामा बस्नेलाई एक महिनाको घर भाडा छुट दिन आग्रह गरेको छ । अधिकांश ठाउँमा कार्यान्वनयमा आएको छैन । होस्टल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष अरुण पराजुलीका अनुसार होस्टल चलाउन पूरै घर घाडामा लिनुपर्छ । ‘घरबेटीले भाडा मागेका छन्,’ उनले भने, ‘होस्टल सञ्चालक तिर्न सक्ने अवस्थामा छैनन् ।’ व्यवसाय सञ्चालन गर्नका लागि होस्टल राखेर बैंकबाट ऋण लिने व्यवस्थाका लागि सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए ।
राज्यलाई कर तिरेको भए पनि सरकारले अहिलेसम्म होस्टल व्यवसायलाई व्यवसायको रुपमा सुचिकृत नगर्नु दुःखद भएको एसोसिएसनका महासचिव पौडेलले बताइन् । व्यवसायीले अन्य व्यवसाय जस्तै होस्टललाई बैंकमा राखेर ऋण लिने व्यवस्था मिलाउन माग गरेका छन् ।
शैक्षिक संस्था बन्द भएपछि चैत्र ९ गते देखि सबै होस्टल बन्द भएका हुन् । होस्टल व्यवसाय जोगाउनका लागि राहात पाउने सूचीमा यो व्यवसायलाई पनि समावेश गर्नुपर्ने ग्लोरी ब्वाएज होस्टलका सञ्चालक प्रकाश पौडेलले बताए । ‘लकडाउनले सबै विद्यार्थी घर भएकाले सबै होस्टल खाली छन्,’ पौडेलले भने, ‘होस्टलको घरभाडा मिनाहा गर्नुपर्छ ।’ शैक्षिक संस्था कहिले खोल्ने अझै निस्चित छैन । ‘होस्टलमा भाडाका लागि ठूलो लगानी छ,’ उनले भने, ‘भाडा मिनाहा नहुने हो भने धेरै होस्टल बन्द हुन्छन् ।’
राहातको पाउनेको सूचीमा होस्टल व्यवसायलाई समेत समावेश गरी सुलभ ऋणको व्यवस्था गर्न आग्रह गरेका छन् । शैक्षिक संस्था नखुल्दासम्म होस्टल सञ्चालनमा नआउने भएकाले लडडाउनको अवधिको भाडा मिहाना हुनुपर्ने माग राखेका छन् । सहरमा विकराल सामाजिक समस्याको रूपमा रहेको सहरी आवासलाई व्यवस्थित गर्दै आएको होस्टल व्यवसाय कोरोनाको मारमा परेको बताएका छन् । मुलुकभर १२ सय भन्दा बढी होस्टल रहेको एसोसिएसनका दाबी छ । व्यवसायीहरूका अनुसार करिव सवा अर्व रुपैयाँ भन्दा बढी लगानी रहेको छ । होस्टेलबाट आवास र खानपानमा ६० हजार भन्दा बढीले सेवा लिँदै आएको बताउँछन् । यो व्यवसायले १० हजार भन्दा बढीलाई रोजगारको अवसर सृजना गरेकाले सरकारले आवश्यक सहयोग गर्नुपर्ने होस्टेल सञ्चालक बताउँछन् । काठमाडौँ उपत्यका जस्तो महँगो सहरमा ८ हजार ५ सय रुपैयाँ मासिक शुल्क लिएर शैक्षिक खाने, बस्ने, अध्ययन गर्ने व्यवस्था मिलाएकाले विद्यार्थीलाई राहात पुगेको थियो । सञ्चालकले व्यवसायको दर्ता, संचालन तथा नियमनका लागि कार्यविधि ल्याएर व्यवस्था गर्न आग्रह गरेका छन् । होस्टल व्यवसाय सरकारी कुनै निकायले सूचिकृत नगरेकाले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ को अनुसूचीमा सूचीकृत नभएको व्यवसाय भनी कर्जा प्राप्त गर्न कठिनाई भएको गुनासो छ ।