पोखरामा अनियन्त्रित माइक्रोबस दुर्घटना, तीनको ज्यान गयो

कास्की — पोखरा महानगरपालिका–३२ स्थित लामेआहालमा बुधबार दिउँसो भएको माइक्रोबस दुर्घटनामा तीन जनाको ज्यान गएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रो अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खेतमा खस्दा दुर्घटना भएको हो। गम्भीर घाइते भएका तीन जनामध्ये उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मृतकमध्ये हालसम्म पोखरा–२५ हेम्जाकी ५१ वर्षीया साङमाया गुरुङको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख इन्स्पेक्टर शोभा पाण्डेले जानकारी दिइन्। दुर्घटना हुँदा माइक्रोमा ११ जना सवार थिए। अन्य आठ जनाको अवस्था सामान्य रहेको र उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिमा रहेको माइक्रो अचानक चलेको हावाहुरीका कारण अनियन्त्रित बनेर दुर्घटनामा परेको अनुमान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय