नुवाकोट, बिदुर नगरपालिका एक जोईपोइको झगडा ‘परालको आगो’मा सीमित नभई यो तेजाबको आगोमा परिणत

नुवाकोट, बिदुर नगरपालिका एक जोईपोइको झगडा ‘परालको आगो’मा सीमित नभई यो तेजाबको आगोमा परिणत भएको छ ।
यही घटनालाई आधार मान्दा पनि अब लोग्नेस्वास्नीको झगडाले सहजै साम्य हुने अवस्थालाई जितेर धेरै अगाडि बढेको देखिन्छ । कुनै समय ‘दुई ज्यान एक प्राण’को कसम खाँदै अँगालोमा बाँधिने जोडी कालान्तरमा पारपाचुके र कहिलेकाहीँ त ज्यानै लिने तहसम्मको बदलाभावको आगोमा पोलिन थालेका छन् ।

क्रोध र आक्रोशको ज्वालामा तेजाब मिसिँदा वैवाहिक जीवन हुर्हुरी सल्किएर खाक बनेको मात्र छैन, पतिलाई जीवन र मृत्युको दशगजामा उभ्याएको छ । बाबुआमालाई राम्ररी चिनिनसकेको चार महिने नूतन शिशुको भविष्य अन्यौलको भुमरीमा परेको छ ।
फागुन पूर्णिमाको मध्यरात, मस्त निद्रामा थिए रामराजा थापा । अचानक उनको अनुहारमाथि सयौं कमिलाको ताँती लागेजस्तो अनुभूति भयो । ब्युँझिन नपाउँदै तातो आगाको फिलिङ्गा अनुहार, घाँटीमा खसेजस्तो भयो । त्यो झोलिलो रसायन के थियो, उनले ठम्याउन नपाउँदै शरीरमा जलनको ज्वारभाटा उठिहाल्यो ।

रामराजा अताल्लिँदै उठे । नजिकै पत्नी प्रतिमा न्यौपाने थिइन् । ढुङ्गो बोल्ला उनी बोलिनन् । बरु भित्तापट्टि फर्किएर छोराको सह्यार गर्न थालिन् । बाबुको चिच्याहट सुनेर चार महिने नवजात शिशुको पनि आर्तनाद छायो । तैपनि श्रीमानलाई के–कसो भयो उनले चासो दिइनन् । बरु उठेर ढोका खोलिन् । झ्यालतिर आँखा पुर्‍याइन् ।

झ्याल बन्द थियो कि खुल्ला ? त्यो पनि रामराजाले भेउ पाउन सकेनन् । तेजाबको जलनले टालिइहाल्यो ।
तीनजनाको जहान परिवारमात्र सुत्ने कोठा निमेषभरमै धुवाँको साम्राज्य बन्यो ।
त्यसदिन रामराजाले बत्ती ननिभाई सुतेका थिए । बाहिर बरण्डातर्फ बत्ती पनि बलिरहेकै थियो । अताल्लिँदै उठ्दा कोठाको बत्ती निभेको थियो । बरण्डातर्फबाट उज्यालो आइरहेको थिएन ।

कसले निभ्यायो बत्ती ? को पस्यो झ्यालढोका लगाएको बन्द कोठाभित्र ? कसले अनुहारमा घोप्ट्यायो अति प्रज्ज्वलनशील रसायन ? तीव्र छटपटाहट, डाहाबीच रामराजाको मनमा यी प्रश्न ठिङ्ग उभिए ।

मध्यरात रामराजाको कारुणिक चित्कार सुनेपछि भान्छाकोठामा सुतिरहेका सालो पनि ब्युँझिए । ढुन्मुनिँदै भिनाजु सुतेको ठाउँ आइपुगे । उनी आइपुग्दा रामराजाको अनुहार आधा सखाप भइसकेको थियो । आँखाको डिल पाउरोटीझैं फुलेको थियो । अनुहारको रोगन डढेर कालो भइसकेको रहेछ । डस्ना छिचोलेर खाटको प्लाइसमेत डढ्न भ्याइसकेको थियो ।
उनको होसहवास गुम्यो । कोठाको ठीक सामुन्ने बाथरुम थियो । त्यहीँ लगेर उनले नुहाइदिए । जति पानी खन्याए पनि अनुहारको डाह घटेन ।
गाडी लाइनमा काम गरेकाले तेजाबबारे अनभिज्ञ थिएनन् रामराजा । मर्लान्त अवस्थामै उनले सालालाई भने, “मेरो अनुहारमा तेजाब खन्याइदिएजस्तो छ । दाजुलाई खबर गरिदेऊ !”

तिनै सालाले साहिँला दाजु सागर थापालाई खबर गरिदिए । सागर उनका गाडी साहू पनि थिए ।
रामराजा बा ४ ख ६५७५ नम्बरको काठमाडौं–धरान चल्ने हायस माइक्रोबस चलाउँथे । बिरामी परेकाले दुई दिनदेखि चलाउन सकेका थिएनन् ।
मधयराति १२ बजेतिर भाइलाई तेजाब खन्याइयो भन्ने सुनेपछि सागर पनि छाँगाबाट खसेजस्तो भए । उनले तुरुन्तै कलङ्कीमा रहेका अन्तरे भाइ सुबराज थापालाई खबर गरे ।

दैवसंयोग नै भनौं, सुबराज पनि भाइसँग कुरा गर्ने प्रयास गरिरहेका थिए । केही बेरअघि मात्रै सालाले फोन उठाएका थिए र एकछिनपछि कुरा गराउँछु भन्दै टारेका थिए ।

तर दाइले फोन गरेर बेलिविस्तार लगाएपछि उनी हान्निँदै स्कुटी लिएर अष्टनारायण हलपछाडि, पुरानो गुह्येश्वरी नजिकै भाइ बस्ने कोठा पुगे ।
भाइ कोठामा भुतभुतेको माछाझैं छटपटाइरहेका रहेछन् । कोठाबाट धुवाँ दूर भइसकेको थिएन । तेजाबको अम्लीय गन्ध ह्वास्सै नाकमा ठोक्कियो । सुबराजले तत्कालै एम्बुलेन्समा राखेर शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याए । आकस्मिक कक्षमा नर्स, चिकित्सक पानी खन्याउने, डाह कम गर्ने यत्नमा जुटे ।

उनका अनुसार बुहारीको व्यवहार सुरुदेखि नै शङ्कास्पद थियो । कोठामा छँदा पनि उनको भावभङ्गिमा अस्वाभाविक नै थियो । कसरी घटना भयो भनेर केरकार गर्दा कुरा फेरिरहन्थिन् ।

“कहिले झ्यालबाट अपरिचित मान्छेले तेजाब छ्यापेर गयो भन्थिन् । कहिले कसले छ्याप्यो, छ्याप्यो भनेर उम्कन खोज्थिन् । बन्द कोठाभित्र कसले निभायो बत्ती भनेर सोध्दा मूर्तिजस्तै बनिदिन्थिन्,” घटनाको बेलिविस्तार लगाउँछन् सुबराज ।
तैपनि उनको शङ्काको सुइ बुहारीतिर सोझिइसकेको थिएन ।

मर्लान्त हालतमा रहेका भाइलाई अस्पताल पुर्‍याएपछि प्रहरीलाई खबर गर्न उनी कोठा फर्किए । बुहारीलाई कुरुवा राखेर उनी भाइको कोठामा आएका थिए । तर बुहारी उनलाई पछ्याउँदै कोठासम्मै आइछन् ! हतारहतार ओछ्यानको ब्ल्याङ्केट मिलाउन थालिछन् । कोठाभित्र गम्भीर अपराधकृत्य भएकाले घटनास्थल सुरक्षित राख्नुपर्छ भन्ने सुबराजको होस गुमिसकेको रहेनछ ।

कसैले सुराक पाउन नसकून् भन्ने अभिप्रायले कर्तुतको प्रमाण नष्ट तुल्याउन फर्किईफर्किई घटनास्थल पुग्ने अपराधीको मनोवृत्ति पनि सुबराजले सुनेका थिए । त्यसैका आधारमा प्रहरी अपराधीसम्म पुगेको कयौं दृष्टान्त उनले पत्रिका पढेर थाहा पाएका थिए ।
पुनः झल्याँस्स भए, “कतै बुहारीले नै त तेजाब खन्याइन ?”

“एउटै ओछ्यानमा सुतेको पति जीवन–मरणको दोसाँधमा छन् । श्रीमती हतारहतार कोठा पुग्छिन् । सद्दे कुरा बताउँदिनन् । कहाँबाट आयो तेजाब भन्दा कसैले झ्यालबाट छ्याप्यो भनेर लकपकाउँदै उत्तर दिन्छिन् ? बन्द झ्याल बाहिर तेजाब हालेको बियरको बोतल फेला परेको छ । उनीबाहेक दोस्रो व्यक्तिले हान्न सक्ने अवस्था छैन, कसलाई शङ्का गर्नु,” उनी निरीह हुँदै प्रश्न गर्छन् ।

शिक्षण अस्पतालको चौथो तलाको उत्तरपश्चिमतर्फको बर्नवार्डमा ३३ नम्बर शय्यामा रामराजा मुढोवत् पल्टिइरहेका छन् । तेजाबले दुवै आँखा जखम तुल्याएको छ । रगत पिपमा परिणत भएर घाँटीसम्म धारा छुटेको छ । घाउको सङ्क्रमण फैलिँदै, गहिरिँदै जाँदा गालाबाट घाउका पाप्रा उक्किन थालिसकेका छन् ।

प्रतिक्रिया