ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोरमा लगानी सम्झौता

काठमाडौं । १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। ग्लोबल आइएमई बैंकको अगुवाइमा प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेन्ट प्रालि. र सहभागी बैंकहरूबीच सम्झौता सम्पन्न भएको हो।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी, क्रिष्टल पावर डेभलपमेन्टका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य तथा सहअगुवा एवं सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ। आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल एसबीआई बैंक सहभागी रहनेछन्।

कन्सोर्टियममार्फत आयोजनामा करिब १९ अर्ब रुपैयाँ ऋण लगानी गरिनेछ। यसअन्तर्गत ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

सम्झौतापछि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयमै सम्पन्न भई देशको ऊर्जा उत्पादन क्षमता वृद्धि गर्न तथा विद्युत् निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

सम्झौताअनुसार आयोजनाको कुल लागतको ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट र बाँकी २५ प्रतिशत संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ। आयोजना निर्माण सुरु भएको मितिले पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया