काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबारदेखि औपचारिक राजनीतिक भेटघाट सुरु गरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेलाई भाजपा मुख्यालयमा भव्य स्वागत गरिएको छ। पार्टी कार्यालयमा पुगेका उनलाई परम्परागत झाँकी, फूलमाला तथा विशेष स्वागत कार्यक्रममार्फत सम्मान गरिएको थियो।
भ्रमणका क्रममा लामिछानेले भाजपाका नेता नीतिन नवीनसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा भाजपा नेताहरूले पार्टी कार्यालयको संरचना, संगठनात्मक व्यवस्थापन तथा कार्यशैलीबारे जानकारी गराएका थिए।
रास्वपाका अनुसार भेटवार्तामा नेपाल र भारतका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, राजनीतिक अनुभव आदानप्रदान, दलगत सहकार्य तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको थियो।
लामिछाने पाँचदिने भ्रमणका लागि सोमबार भारत गएका हुन्। भ्रमणका क्रममा उनले भारतस्थित नेपाली समुदाय तथा समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भारत बसाइका क्रममा उनले धार्मिक तथा सांस्कृतिक महत्वको स्थल अयोध्याको समेत भ्रमण गर्ने कार्यतालिका रहेको रास्वपाले जनाएको छ।